विश्वभर सबैभन्दा धेरै आयात हुने खाद्य पदार्थको मूल्य वृद्धिमा रेकर्ड कायम भएको छ।
मूल्य वृद्धिबाट विश्वका ४५ देशमा अतिरिक्त दबाब परिरहको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ।
एफओएका अनुसार आफ्नो जनसंख्याको पोषणका लागि आयातमा निर्भर मुलुकमा थप दबाब परेको हो।
नोभेम्बरमा एफएओको फुड प्राइस इन्डेक्स औसत १०५ अंकमा रह्यो। अक्टोबरको तुलनामा यो ३.९ प्रतिशतले र अघिल्लो वर्ष नोभेम्बरको तुलनामा ६.५ प्रतिशतले बढी हो।
एफएओको पछिल्लो प्रतिवेदनमा उल्लेख छ, ‘डिसेम्बर २०१४ पछिको मूल्य वृद्धिको सूचकांक उच्चतम स्तरमा छ।’
सबैभन्दा बढी मूल्यवृद्धि वनस्पति तेलमा देखिएको छ। ताडको तेल उत्पादनमा आएको कमीका कारण वनस्पति तेलको मूल्यमा १४.५ प्रतिशत वृद्धि भएको हो।
अघिल्लो वर्षको तुलनामा यस वर्ष अनाजको मूल्य करिब २० प्रतिशत बढेको छ।
एफएओले खाद्य सूचकांकमा गहुँ, मकै, चिनी र दुग्ध पदार्थ उत्पादनको मूल्यमा पनि अधिक वृद्धि भएको उल्लेख गरेको छ। जबकि मासुको मूल्य वृद्धि पोहोरको तुलनामा थोरै कम छ।
खाद्य वस्तुको मूल्यमा वृद्धिले कोरोना महामारीका कारण रोजगारी गुमाएका वा आम्दानी कम भएका परिवारका लागि अतिरिक्त बोझ भइरहेको छ।
एफएओका अनुसार यसै कारण वैश्विक स्तरमा खाद्य असुरक्षाको भावना पैदा भइरहेको छ। यसबाट कम आय भएका परिवार थप मारमा परेका छन्।
सन् २०२० को सुरुमा कोरोना महामारी मात्रै आएन, कैयौं देशमा सलहको आक्रमणका कारण ठूलो मात्रामा बालीमा क्षति पुग्यो। जलवायु परिवर्तन र आँधीको प्रभावका कारण पनि कृषि क्षेत्रमा ठूलो नोक्सानी भयो।
एफएओले आगामी वर्ष झनै कठिन अवस्था आउन सक्ने चेतावनी दिएको छ।
एफएओको प्रतिवेदनमा उल्लेख छ, ‘४५ देश खाद्य वस्तुको आपूर्तिका लागि बाह्य सहायतामा निर्भर छन्, यीमध्ये ३४ अफ्रिकामा छन्।’
आगामी वर्ष पनि अफ्रिका र एसियाका केही भागमा आवश्यकताभन्दा बढी वर्षा हुने आँकलन राष्ट्रसंघीय एजेन्सीले गरको छ। अर्कोतिर एसियाककै केही भागमा कम वर्षा हुने अनुमान गरिएको छ।
प्रतिवेदन प्रकाशित हुनु एक दिनअगाडि संंयुक्त राष्ट्र संघकै एक अर्को एजेन्सीले विश्वका गरिब देशले गएका ३० वर्षको तुलनामा यस वर्षमा सबैभन्दा खराब आर्थिक स्थितिको सामना गरिरहेको उल्लेख गरेको थियो।
नेपालमा पनि गत कात्तिकमा नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा तरकारीको मूल्य २६.९ प्रतिशतले वृद्धि भएको देखाएको थियो।
राष्ट्र बैंकका अनुसार दाल र गेडागुडीको मूल्य १३.६३ प्रतिशतले बढेको छ। त्यसैगरी घ्यु–तेलको मूल्य ८.५ प्रतिशत, फलफूलको ६.२१ प्रतिशत र खाद्यान्नको मूल्य करिब ४ प्रतिशले बढेको छ।
समग्रमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ६.९१ प्रतिशले बढेको छ। यो गत भदौ महिनासम्मको तथ्यांक हो।
खाद्य पदार्थको मूल्य वृद्धि हुँदा विपन्न र निम्नमध्यम वर्गका नागरिक थप मर्कामा पर्छन्।
बजारमा खाद्य वस्तुको मूल्यमा ठूलो वृद्धि देखिए पनि कामदारको ज्याला र तलबको वृद्धि भने नगन्य छ।