बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालको प्रस्ताव छलफल हुने बैठकमा सहभागी हुन्नँ : ओली (पत्रकाे पूर्ण विवरणसहित)

दाहालको प्रस्ताव छलफल हुने बैठकमा सहभागी हुन्नँ : ओली (पत्रकाे पूर्ण विवरणसहित)

पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको आरोपपत्रबारे हुने छलफलमा आफू सहभागी हुन नसक्ने स्पष्ट पारेका छन्। 

अध्यक्ष ओलीले आइतबार स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पेस गरेको राजनीतिक दस्ताबेज (आरोपपत्र) बारे हुने छलफलमा आफू सहभागी हुन नसक्ने जानकारी गराएका हुन्। 

पत्रमा ओलीले भनेका छन्, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु।’

ओलीले परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा भने आफू सहभागी हुने स्पष्ट पारेका छन्।

उनले अध्यक्ष दाहालमाथि पार्टी एकीकरणको संक्रमणकालीन अवस्थामा तय गरिएको विधि उल्लंघन गर्दै जसरी पनि जित्ने महत्त्वाकांक्षामा लागेको आरोप लगाएका छन्। ओलीले आफूले एकीकरणको मूल कामको नेतृत्व गरिरहँदा आफूले सोही विधिलाई ध्यानमा राखेको पनि उल्लेख गरेका छन्।

उनले पत्रमा भनेका छन्, ‘मलाई थाहा थिएन, खेलको उत्तरार्धमा आएर केही कमरेडहरू खेलको नियम नै बदल्न लाग्नु हुने छ र जसरी पनि जित्ने महत्त्वाकांक्षा निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुनेछ।’

ओलीले खेलको अन्तिमतिर आएर गर्न खोजिएको नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत रहेको औंल्याएका छन्।

उनले पार्टी कमिटी सहमतिका आधारमा चल्नुपर्नेमा जोड दिएका छन्।

ओलीले भनेका छन्, ‘महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नुपर्छ।’

प्रधानमन्त्री ओलीले अत्यन्त उज्ज्वल सम्भावना बोकेको तथा जनताले विश्वास गरेको नेकपा इतिहासकै गम्भीर संकटमा रहेको बताएका छन्।

उनले भनेका छन्, ‘यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिर्वतन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको छ।’

प्रधानमन्त्री ओलीले आफूले पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहेन घोषणा गर्दै नेतृत्व हस्तान्तरण सार्वजनिक गरिसकेको बताएका छन्।

नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित, केन्द्रीय कमिटी सर्‍यो

बैठकमा कोही आए पनि नआए पनि निर्णय हुन्छ, पार्टी अनिर्णयको बन्दी बन्नु हुँदैन : रावल

दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याउँदै ओलीले पठाए पत्र

उनले अर्का अध्यक्ष दाहालको आलोचना गर्दै पत्रमा लेखेका छन्, ‘नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिकिरको छ।’

उनले आफूलाई स्थायी कमिटीका सदस्यहरुके सामूहिक विवेकमाथि विश्वास रहेको बताएका छन्। ओलीले भनेका छन्, ‘भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै संकटबाट सकुशल अवतरण गराउनुभएको थियो। आशा छ- कमरेडहरुले यसपटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुनेछ।’

अध्यक्ष ओलीले पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने दाहालको आरोपपत्र निःसर्त फिर्ता हुनुपर्ने माग गरेका छन्।

उनले एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड १९ विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची तयार पार्नुपर्नेमा जोड दिएका छन्।

यस्तो छ ओलीको पत्र

स्थायी कमिटीका प्रिय कमरेडहरु,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), 

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८ अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले प्रस्तावका नाममा मेराविरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहन्छ। 

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका संगीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छ। 
पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनु पर्ने मेरो मान्यता यथावत् छ। एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु।
तर, उक्त अभियोग पत्रसहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ। आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो संगीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछ। परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु।

कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिस्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्वीर मात्रै मेरो मनमा अंकित थियो। हामीले एकीकरणको संक्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्यौं र पार्टीका कतिपय वैचारिक, संगठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुंग्याउने निर्णय गर्यौं। एकीकरणको मल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखें। त्यसै अनुरुपका संरचाना निर्माण गरिए।

तर, मलाई थाहा थिएन– खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु खेलको नियम नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने करा म स्पष्ट पार्न चाहन्छ। आज पनि म दोहोयाउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु ।

अत्यन्त उज्ज्वल सम्भावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गम्भीर संकटमा छ। यो संकट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको छ। मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु। 

तर, पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ।

मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ। गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै संकटबाट सकुशल अवतरण गराउनु भएको थियो । आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुने छ । 
हार्दिक अभिवादन सहित, 
केपी शर्मा ओली 
अध्यक्ष एवं प्रधानमन्त्री 
२०७७ मंसिर २१

प्रकाशित: Dec 06, 2020| 10:39 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।