पोखरा। गण्डकी प्रदेशमा थप तीनजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दुई पुरुषको शनिबार बिहान र एक महिलाको शुक्रबार राति मृत्यु भएको हो।
पोखरा महानगरपालिका-१२ का ८० वर्षीय पुरुष र पोखरा-११ की ७२ वर्षीया महिलाको फिस्टेल अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै पोखरा-१७ का ५७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।
शर्माका अनुसार उनीहरूमा निमोनिया, मधुमेह, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो।
योसँगै गण्डकीमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ।
प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५९८ पुगेको छ।
आज शनिबार ११९ संक्रमित थपिएका हुन्।
कुल संक्रमितमध्ये सात हजार २९२ जना संक्रमणमुक्त भएका छन्। प्रदेशमा हाल पाँच हजार १४० सक्रिय संक्रमित छन्।
तीमध्ये तीन हजार ८६८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांक छ।