काठमाडौं- सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
आज पार्टी महासचिव तथा सचिवालय सदस्य विष्णु पौडेलको ६२ औं जन्मदिन परेकाले उनलाई शुभकामना दिएर बैठक सुरु भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।
पौडेललाई शुभकामना दिँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहालले केक खुवाएका थिए।
केही महिनायता चरम आन्तरिक विवादमा फसेको नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले यसअघि प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।
यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेर तय गरिए पनि प्राविधिक समस्या भन्दै बैठक बालुवाटारमा बसेको हो।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै राजनीतिक प्रस्ताव पेश गरेका थिए।
दाहालको आरोपको जवाफ ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरेपछि नेकपा विवाद झन् तातेको छ।
आरोपसहितको राजनीतिक प्रतिवेदन फिर्ता लिने की छलफल गर्ने भन्ने विषयमा नेकपा भित्र बहस चले पनि दुबै अध्यक्ष आफ्नो प्रतिवेदन फिर्ता नलिने अडानमा छन्।
