काठमाडौं- पोर्चुगल पठाइदिने भन्दै रुपन्देहीका २ जनालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–६ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिवनारायण चौधरीलाई पक्राउ गरेको हो।
उनलाई महाशाखाको टोलीले सुन्धाराबाट पक्राउ गरेको हो। वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिने भन्दै चौधरीले ती दुई युवकबाट १६ लाख २५ हजार २५० रुपैयाँ लिएका थिए।
ती युवकहरुको राहदानीसमेत लिएर विश्वास दिलाएपछि चौधरीको खातामा रकम जम्मा गरेका थिए।
चौधरीले अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाएको खुलेको छ।
आफू ठगिएको बुझेपछि दुवै जनाले महाशाखामा उजुरी दिएका थिए। पक्राउ परेका चौधरीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।