सिरहा– सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ।
समयमा भएको वर्षा, अनुकूल मौसम र रोग तथा किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो।
यो वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिए।
यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताए।
गत वर्ष सप्तरीमा प्रतिहेक्टर २.४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो।
सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मतीलगायतको धान लगाउने गरिएको छ।
रासस