कञ्चनपुर- लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिन लगाउने र दिने दुबै ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्का र परिक्षा दिन लगाउने बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ कञ्चन विधा मन्दिर परीक्षा केन्द्रमा नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा भएको थियो । परीक्षामा सहभागी भइरहेका थिए प्रवेशपत्र जाँच गर्ने क्रममा फोटो नमिलेपछि अर्कोको नाममा परीक्षा दिँदै गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।