काठमाडौं– यस वर्षको साढे आठ महिना अवधिमा देशैभर भएका प्रमुख विपद्का घटनामा ४८३ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाख १ देखि मंसिर १४ गतेसम्मको अवधिमा ४८३ जनाले ज्यान गुमाएका हुन्।
यस अवधिमा दुई हजार ४१० घटना भएका छन्। यी घटनामा १०१ जना बेपत्ता भएका छन् भने ८६२ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार एक अर्ब दुई करोड ३४ लाख ४७ हजार ७१० रुपैयाँ अनुमानित क्षति भएको छ।
सबैभन्दा धेरै आगलागीका एक हजार ५६ घटना भएका छन्। त्यसमा २० जनाको मृत्यु भएको छ भने १८८ घाइते भएका छन्। अनुमानित क्षति ८४ करोड ३९ लाख १७ हजार ८६० रुपैयाँ भएको छ।
त्यस्तै चटयाङका २१६ वटा घटना भएका छन्। त्यसमा ६५ जनाको मृत्यु भएको छ भने २१३ घाइते भएका छन्। ५९ लाख ४२ हजार ५०० रुपैयाँ अनुमानित क्षति भएको छ।

सर्पदंशका ५६ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।
जनावर आक्रमणका १४० घटनामा १९ को मृत्यु भएको छ भने १३० घाइते भएका छन्। ३८ लाख ७१ हजार २५० अनुमानित क्षति भएको छ।
यस अवधिमा बाढीका ९७ घटनामा ४२ जनाको मृत्यु भयो भने ३७ जना बेपत्ता भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार ११ जना घाइते भएका छन् भने चार करोड ८८ लाख ११ हजार रुपैयाँ अनुमानित क्षति भएको छ।
यस वर्षको साढे आठ महिना अवधिमा सबैभन्दा धेरै पहिरोमा परेर ३०१ जनाको मृत्यु भएको छ। ४८५ वटा पहिरोका घटनामा ती मानिसको मृत्यु भएको हो। ६४ जना बेपत्ता भए भने २२५ जना घाइते भएका छन्।
पहिरोका कारणले पाँच करोड नौ लाख ६४ हजार ९०० रुपैयाँ अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ।
त्यस्तै अविरल वर्षाका ३६० घटना भएका छन्। ती घटनामा १५ जनाको मृत्यु भएको छ भने ५६ घाइते भएका छन्। ६ करोड ९९ लाख ४० हजार २०० रुपैयाँ अनुमानित क्षति भएको छ।