काठमाडौं– चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे जंगी अड्डामा आयोजित सम्मान गारद ग्रहण र निरीक्षणमा सहभागी भएका छन्।
एकदिने भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका फेङ्हे नेपाली सेनाको सम्मान गारद ग्रहण र निरीक्षणमा सहभागी भएका हुन्।
उनले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
त्यसपछि उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।
राष्ट्रपतिसँगको भेटपछि उनी सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र त्यहीबाट फर्किने कार्यक्रम छ।
चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको उनले आइतबार बिहान विमानस्थलमा बताएका थिए।