काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्षेत्र नं ८ का जनतालाई स्वास्थ्य सामग्री वितरण गरेका छन्।
कोभिड-१९ को महामारीबीच घरदैलो अभियानमा निस्किएका नेता जोशीले आज चागल क्षेत्रमा पुगेर त्यहाँका जनतालाई निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि वितरण गरेका हुन्।
गणेशमान अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले कोरोनाको महामारीको समयमा जनताको समस्या बुझ्न घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए।
उनले यसअघि सोल्टीमोड, कालिमाटी, रविभवन, स्वयम्भू, मिलिजुली टोल र शान्तिनगर क्षेत्रका बासिन्दालाई घर घरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामग्री वितरण गरिसकेका छन्।
उनले घरदैलो अभियानअन्तर्गत संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने तथा बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा २४ सै घण्टा सेवा सञ्चालन गरिएको जानकारी दिए।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेतलगायत विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ।
कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ। रासस