जनकपुरधाम- जनता समाजवादी पार्टीका नेता शरद सिंह भण्डारीले वर्तमान सरकार इतिहासकै सबैभन्दा अराजक सरकार रहेको बताएका छन्।
विद्यापति स्मृति दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै जसपा नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहिनता अत्यधिक रहेकोले अराजकता बढेको बताए।
कानुनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमत दिएर जनादेश दिए पनि भ्रष्टाचार, अनुशासन हिनता मुलुकमा बढेको बताए।
नेता भण्डारीले देशमा शक्ति विकेन्द्रिकरणका लागि नेपाली जनताले संघीयता ल्याए पनि वर्तमान सरकारको नियतमा शंका लागिरहेको उल्लेख गरे।
उनले भने ‘वर्तमान राजनीतिक प्रणाली संरक्षण गर्ने जुन सरकारको जिम्मा छ सोही सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्धत छ।’ अगाडि भने ‘वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको छ।’
एक अर्को प्रसंगमा नेता भण्डारीले प्रदेश २ सरकारले अहिलेसम्म नामाकरण गर्न नसक्नु दुःखद विषय रहेको बताए।
प्रदेश २ को नामाकरण भूगोलको आधारमा मात्र नभई भू संस्कृतिलाई समेत समेटेर नामाकरण गर्नु आवश्यक रहेकोले सहमतिको आधारमा चाँडै नै नामाकरण गर्न प्रदेश सरकारलाई आग्रह गरे।