काठमाडौं- सत्तारुढ नेकपा सचिवालयको बैठक बालुवाटारमा शनिबार सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ।
२८ कात्तिकको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो दस्तावेज पेस गरेका थिए।
दस्तावेजमा पार्टी र सरकार सञ्चालन गर्न नसकेको भन्दै ओलीमाथि गम्भीर आरोप लगाइएको छ।
यस्तै दाहालले घुमाउरो पारामा ओलीलाई पदबाट राजीनामा गर्न दबाब दिएका छन्।
दाहालको प्रस्तावका कारण ३ मंसिरमा तोकिएको सचिवालय बैठक अन्योलमा परेको थियो। तर, दोस्रो तहका नेताहरुको सक्रियतापछि बैठक बसे पनि ठोस निर्णय केही भएन।
दस दिनपछि बस्न लागेको सचिवालय बैठकमा ओलीले राजनीतिक प्रस्ताव पेस गर्न लागेका हुन्। त्यसैले आजको बैठकलाई निकै अर्थपूर्ण मानिएको छ।
दाहाल–नेपाल समूह भने ओलीले ल्याउने प्रस्तावपछि थप रणनीतिमा जुट्ने तयारीमा छ। दाहाल समूहले आफ्नो राजनीतिक दस्ताबेज तल्ला तहसम्म पुर्याएको छ।