सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजना युवालाई पक्राउ गरेको छ।
जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका ४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका ३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो।
धामीलाई १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए।
‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’, उनले भने, ‘पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन्।’
उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।