काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रणका लागि सहजीकरण समूह परिचालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको छ। उक्त निर्देशनअनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि टोलटोलमा समूह परिचालन गर्ने योजना सरकारको छ।
काठमाडौं उपत्यकालगायत अन्य प्रमुख व्यापारिक केन्द्रहरू रहेका जिल्लामा संक्रमण उच्चस्तरमा फैलिएको र अन्य जिल्लाहरूमा फैलिने क्रम बढिरहेकाले संक्रमणको दरलाई घटाउन समुदायको सहभगितामा रोग रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य छ।
समुदायस्तरमा क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने व्यक्तिलाई स्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने तथा निगरानी गर्न समूह बनाउन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हरेक टोलमा एउटा समूह गठन गरिनेछ भने एउटा समूहले कम्तिमा ५० घरको अनुगमन गर्ने र ५० घर भन्दा बढी घर भए अर्को टोली गठन गरिनेछ।
गठन गरिएका समूहले संक्रमितको नजिकमा आएका मानिसको विवरण राख्ने, आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिने र क्वारेन्टिनको लागि सहजीकरण गर्नुपर्नेछ ।