काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यलाई समेटेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ।
ढकाल समूहले आफ्ना एजेण्डालाई समेटेर बुधबार २५ बुँदामा भिजन सार्वजनिक गरेको हो।
महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकोले ढकालले वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर गर्नुपर्ने सुधारका काम सार्वजनिक गरेका छन्।
यसमा उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका लागि गरिने कार्य पनि समेटिएको छ।
महासंघको सशक्तता, जिल्ला नगर उद्योग वाणिज्य संघहरूको सबलीकरण, उद्योगमैत्री वातावरणको निर्माण, नीति निर्माणमा गरिने पैरवी, कोभिड महामारीका कारण उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधानलगायत विषय समेटिएको ढकाल पक्षले जनाएको छ।
उद्यमशीलताको विस्तारको वातावरण, वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माणजस्ता विषय पनि २५ बुँदे भिजनमा परेका छन्।