शनिबार, असोज १७, २०८३

चिनियाँ नाकाबाट आउने गाडीको संख्या बढाइँदै

कोरोना भाइरसको जोखिम भन्दै चीन सरकारले नेपालसँगको नाकामा गरेको कडाइ खुल्ने भएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– कोरोना भाइरसको जोखिम भन्दै चीन सरकारले नेपालसँगको नाकामा गरेको कडाइ खुल्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले केरुङ र तातोपानी नाकाबाट आउने गाडीको संख्या थप गर्ने सूचना पाएको बताए। 

‘चिनियाँ पक्षले कोभिडको कारण देखाउँदै केही कडाइ गरेको थियो। उहाँहरुको प्रोटोकल मान्नुपर्ने हुन्छ’ भट्टराईले भने, ‘औपचापरिक पत्र आइपुगिसकेको छैन। मलाई आएको जानकारी अनुसार चिनियाँ नाकाबाट आउने गाडीको संख्या बढाउने तयारी चीनले गरेको छ।’

चिनियाँ पक्षले नाकामा आउने गाडीको संख्या बढाउन लागेको भन्दै नेपाली व्यवसायीले चिनियाँ साइडबाट गर्ने आयातमा सहजता आउने विश्वास मन्त्रालयले गरेको भट्टराईको भनाइ थियो। यसअघि २०७२ सालमा गएको भूकम्पका कारण केरुङ र तातोपानी नाकाबाट आउने सवारीमा चीन सरकारले कडाइ गरेको थियो।

त्यस्तै २०७६ चैतदेखि फैलिएको कोरोना भाइरसका कारण चीनले अन्तर्राष्ट्रिय व्यापारमा कडाइ गर्दै नेपालसँगको सिमानामा समेत कडाइ गरेको थियो। यसअघि वाणिज्य मन्त्रालयले चीनसँगका नाकाबाट हुने व्यापार सहज बनाउने गरी तिब्बतस्थित महावाणिज्य दूतावासमार्फत पहल भइरहेको जानकारी गराएको थियो।


प्रकाशित: Sep 28, 2021| 12:57 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्