काठमाडौं– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ३.७९ प्रतिशत देखिएको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चालू खाता ३४ अर्ब ३६ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ४७ करोड रुपैयाँले घाटामा थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति पनि तीन महिनामा ४.९ प्रतिशतले बढेर १४ खर्ब ७० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्तिम महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्व १ अर्ब ८४ करोड रुपैयाँ थियो।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ। त्यस्तै चालू आर्थिक वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड कायम भएको छ।
अघिल्लो वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ।