काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैंगिक हिंसा तथा विभेदलाई नसहने बताएका छन्।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सन्देश जारी गर्दै प्रधानमन्त्रीले लैंगिक हिंसा विरुद्धको अभियान सफलताका लागि सबैमा शुभकामना दिएका छन्।
‘महिला केन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम सरकारले बनाएको छ,’ उनले भने, ‘राज्यसँग उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्र्माण र महिलाको अधिकार सुरक्षित गर्न सरकार अग्रसर छ।’
‘कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैंगिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न हामी सबैमा थप ऊर्जा मिलोस् भन्ने समेत यस अवसरमा कामना गर्दछु’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।
कुनै पनि प्रकारको लैंगिक हिंसाको समूल अन्त्य गर्ने अभिप्रायका साथ लैंगिक हिंसा पीडितको मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि संवेदनशील र अग्रसर हुन पनि प्रधानमन्त्रीले व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।
सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको भन्दै उनले सरकारले हिंसा पीडितलाई क्षतिपूर्तिको व्यवस्था, शिक्षा, स्वस्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने व्यवस्था गरेको बताएका छन्।
विश्वव्यापी रुपमा सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रूपमा मनाउँदै आइएको छ।
नेपालमा ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै छ।