काठमाडौं- अनलाइन सेवाबाटै पूजा सामग्री र फूलका बोटबिरुवा मगाउन सकिने भएको छ। विजयादशमीको अवसरमा पिनाकिन टेक्नोलोजिज प्रालिले पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कमको सेवा सुरु गरेको हो।
धर्म/संस्कार अनुसारका हरेक चाडपर्व र पूजाआजामा चाहिने सबै प्रकारका सामान पूजाथाली डट कमले उपलब्ध गराउने कम्पनीका निर्देशक सुजित ज्ञवालीले बताए। 'कुन पूजाको लागि के-के सामान चाहिन्छ? कति-कति चाहिन्छ? ती सामानहरू कहाँ-कहाँ पाइन्छ? भनेर धेरैलाई अप्ठेरो परिरहेको हुन्छ,' ज्ञवाली भन्छन्, 'यी सबै प्रश्नको समाधानका लागि हामीले पूजाथाली सुरु गरेका हौँ। हामीले घरमा नै सामग्री पुर्याउने व्यवस्था गरेका छौँ।'
पूजाथालीमा विभिन्न देव देवताका मूर्तिहरू र पूजाको लागि चाहिने तामा तथा पित्तलका भाँडाहरू पाइन्छन् भने ईनर्सरीमा फलफूल तथा सजावटका बोटबिरुवाहरू, विभिन्न किसिमका गमलाहरू, मल, किटनाशक र घरेलु बगैँचाका लागि चाहिने औजार उपलब्ध भएको कम्पनीले जनाएको छ।