सोमबार, भदौ २९, २०८३

कसैले लेखक भनिदिँदा असहज लाग्छ: जीवा लामिछाने

लेखक जीवा लामिछानेसँग उनको हालै प्रकाशित नियात्रा संग्रह ‘देश देशावर’ बारे गरिएको छोटो कुराकानी 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा व्यवसायी जीवा लामिछानेको दोस्रो कृति ‘देश देशावर’ बिहीबार भिडियो कार्यक्रम मार्फत सार्वजनिक भएको छ। पहिलो कृति 'सरसर्ती संसार'  प्रति पाठकले देखाएको स्नेह र ‘केही राम्रै लेख्छु’ भन्ने अठोटले दोस्रो कृति पाठकमाझ ल्याउन हौसला मिलेको लेखक लामिछाने बताउँछन् ।

१३० भन्दा बढी देश टेकिसकेका उनी आफू पुगेको माटो, संस्कार, संस्कृति र प्रगतिलाई टिपोट गरेर राख्छन्। उनका अनुसार तीनै टिपोटमा निजात्मक अनुभूति घोल्दै परिमार्जन गरेपछि कृति तयार भएको हो। यतिबेला जर्मनीको फ्र्यान्कफर्टमा रहेका लेखक लामिछानेसँग नियात्रा संग्रह ‘देश देशावर’बारे नेपाल समयका लागि शिवराज योगीले गरेको संवादः   

प्रकाशन गृहहरुले पुस्तक प्रकाशनपूर्व निकै तामझामका साथ पुस्तकको प्रचार गर्छन्। तर,  ‘देश देशावर’ सुटुक्कै आयो नि ?

प्रकाशन गृहहरुले पाठकको मुड र रुचि हेरेर प्रचारका विभिन्न शैली अपनाउँछन्। कोरोना महामारीका कारण यसपटक पुस्तकको प्रचार र विमोचनको शैली फेरिएको छ। गएको वैशाखदेखि असोजसम्म त प्रकाशन भएका पुस्तक समेत बजारमा गइरहेका थिएनन्। छापिएका पुस्तक पनि गोदाममा थन्किएका थिए भन्ने सुनेको हुँ। दसैंअघि मात्र नयाँ पुस्तक बजारमा जान थालेका हुन्। यसरी बजारमा पठाउँदा पहिलेको जस्तै शैली भएन। मेरो पुस्तकको हकमा पनि यही कुरा लागू भयो।

प्रकाशन गृहको योजना मुताबिक यो पुस्तक गत वैशाखमै पाठकको हातमा पुग्नुपर्ने थियो। तर कोरोना महामारीका कारण त्यो सम्भव हुन सकेन। केही ढिलो भए पनि म खुसी छु।

कोरोनाका कारण सबै गतिविधि ठप्प जस्तै भएको बेला नियात्रा प्रकाशन गरेर पाठकलाई अक्षरमार्फत यात्रा गराउन खोज्नु भएको हो?

गरिरहेको कामबाहेक मेरो तीनवटा कुरामा बढी रुचि छ। एउटा पुस्तक पढ्ने,  अर्को यात्रा गर्ने र तेस्रो चाहिँ दैनिक डायरी लेख्ने। मैले जति पनि यात्रा गरेँ, त्यस ठाउँका बारेमा लेख्दै गएँ। यसरी लेखिएको टिपोटलाई परिमार्जन गरेर पहिलो पुस्तक बजारमा ल्याएको थिएँ।

पहिलो पुस्तक मेरो रहर मात्र थियो। तर त्यसले जसरी पाठकहरुबाट माया पायो,  त्यसबाट मलाई थप लेख्न प्रेरणा दियो। यो पुस्तक त्यही माया र आँटको निरन्तरता हो। यद्यपि ‘देश देशावर’ योजनाबद्ध लेखन नै हो। तर संयोग कस्तो परिदियो भने यही बेला कोरोनाका कारण मानिसले घरघरमा बन्द हुनुपरेको छ। अझै थप केही महिना बाहिरको यात्रा सम्भव छैन। यस्तो बेला यो पुस्तकले पर्यटनको थोरै स्वाद दिन सक्यो भने मलाई खुसी लाग्नेछ।

‘देश देशावर’ मार्फत पाठकले कुन कुन ठाउँको यात्रा गर्न सक्नेछन्?

मैले तीन कारणले विभिन्न देशको यात्रा गरें। गैरआवासीय नेपाली संघमा आवद्ध हुँदा नेपालीको बसोबास जहाँ जहाँ छ, त्यहाँ पुग्ने योजना बनाएको थिएँ। तीमध्ये धेरै देशमा पुगें। दोस्रो व्यवसायका कारण धेरै ठाउँमा पुग्नुपर्ने बाध्यता थियो। यस्तो बेला व्यवसायिक काम सकेपछिका केही दिन म ती ठाउँ घुम्न निस्कन्थें पर्यटक जस्तै । पछिल्लो समय भने पर्यटक भएरै विश्वका महत्वपूर्ण ठाउँ घुम्ने योजना बनाएको छु।

पहिलो पुस्तकमा पाँच महादेशका २९ ठाउँका सरसर्ती वर्णन छन्। यो पुस्तकमा पनि घुमेका २० ठाउँका अनुभव साटेको छु। त्यसमा पनि पर्यटकीय क्षेत्रको वर्णन बढी छ। समग्रमा भन्नुपर्दा ‘देश देशावर’ ले विश्वका केही महत्वपूर्ण पर्यटकीय क्षेत्रको रमाइलो यात्रा गराउँछ।

‘देश देशावर’ मा भूगोलको सरसर्ती बयान मात्र छ वा थप केही?

भूगोलको सरसर्ती बयानले मात्र त नियात्रा नहोला। मैले सकेसम्म आफू घुमेको ठाउँलाई चिनाउन त्यहाँ भूगोल, संस्कृति, राजनीतिक सामाजिक इतिहास,  सामाजिक मनोविज्ञान र पछिल्लो आर्थिक प्रगतिलाई पनि समेट्ने प्रयत्न गरेको छु। तर ती सबै एकै नासले एकै शैलीमा आउँदैनन्। सामान्य जानकारी त गुगल र युट्युबमा जति पनि पाइन्छन् त्यसैले मैले यात्रालाई निजी अनुभूतिमा घोल्ने प्रयास गरेको छु। म कुन ठाउँमा कुन कामले पुगेको थिएँ, त्यस विषयमा पनि लेखेको छु। यसोगर्दा त्यो देशको वा त्यस क्षेत्रका धेरै कुरा छुटेका हुन सक्छन्। त्यो स्वभाविक पनि हो।

‘देश देशावर’ का पाठकले आफ्नो मुलुकको कमजोर तस्बिर मात्र देख्छन् कि सम्भावनाको खोजी पनि गर्न सक्छन्?

मैले यात्रा गरेका क्षणहरुमा आफ्नो मुलुकको कमजोर पक्ष पनि देख्दै जान्छु र सम्भावना पनि देखिरहेको हुन्छु। लेख्दै जाँदा ती कुरा स्वतः आउने रहेछन। यस अर्थमा अघिल्लो पुस्तकमा जस्तै यसमा पनि मैले घुमेका कतिपय ठाउँहरुमा नेपाल सम्झेको छु र तुलनात्मक सम्भावनाको वर्णन गरेको छु।

तपाईं एक उद्यमी, लेखक बन्न केले उक्साइरहेको छ? 

अझै पनि म आफूलाई लेखक ठान्दैन। कतिपय पाठकले मलाई लेखकका रुपमा इज्जत दिंदा असहज महसुस गर्छु। तर लेखिरहँदा र लेखेका कुराले राम्रो प्रतिक्रिया प्राप्त गर्दा आत्मसन्तुष्टि भने हुन्छ। सायद यहि कारणले मलाई लेख्न उक्साएको हुनुपर्छ।

‘देश देशावर’ पढ्ने पाठकहरूले निचोडमा पाउने कुरा के हो?

हरेक पाठकको पठन अनुभव एउटै पुस्तकबाट पनि फरक फरक हुन्छ भन्ने लाग्छ। ‘देश देशावर’ पढ्दा पनि सायद यही नियम लागू होला। यद्यपि यो नियात्रा विधा भएका कारण यहाँ उल्लेख गरिएका क्षेत्रका बारेमा पाठकहरुलाई केहि चासो जाग्छ कि भन्ने चाहिँ लागेको छ। अथवा घर बसेर अक्षरमार्फत केही ठाउँ घुम्न रमाइलो हुन्छ कि?

प्रकाशित: Nov 21, 2020| 04:10 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।