शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उपभोग्य वस्तु अभाव हल्ला मात्रै, अब निरन्तर अुनगमन हुन्छ : सरकार

उपभोग्य वस्तु अभाव हल्ला मात्रै, अब निरन्तर अुनगमन हुन्छ : सरकार

सरकारले बजारमा केही खाद्यान्नको अभाव रहेको भन्ने कुरा भ्रमात्मक रहेको दाबी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै बजारमा खाद्यान्न अभाव नरहेको दाबी गरेको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- सरकारले बजारमा केही खाद्यान्नको अभाव रहेको भन्ने कुरा भ्रमात्मक रहेको दाबी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै बजारमा खाद्यान्न अभाव नरहेको दाबी गरेको हो। 

मन्त्रालयका सचिव दिनेश भट्टराईले केही वस्तुको भाव रहेको भन्ने हल्लाहरु फैलिइरहेका र ती हल्लाले उपभोक्तालाई आत्तिने भन्दै खाद्यान्न अभाव नरहेको दाबी गरे। चिनी खानेतेललगायतको अभाव रहेको भन्ने कुराहरु हल्ला मात्रै रहेको सचिव भट्टाराईको दाबी छ। 

‘चिनीको सन्दर्भमा, राज्यले उपलब्ध गराएको तथ्यांक आधिकारिक हो। गत वर्ष २ लाख १२ हजार मेट्रिक टन चिनी आयात भएको छ,’ सचिव भट्टाराईले दाबी गरे, ‘उद्योगीको चिनी उत्पादन १७० हजार मेट्रिक् टन उत्पादन हुने रहेछ। आयात समेत जोड्दा ३५७ हजार मेट्रिक् टन त चिनी रहेछ।’

नेपालमा चिनीको माग २ लाख ५० हजार मेट्रिक टन मात्रै रहेको भन्दै उनले माग अनुसार बजारमा चिनीको अभाव नहुने दावी गरे। पछिल्लो समय साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेडलाई चिनी आयातका लागि भन्सार छुट नदिएको आरोप लागिरहेका बेला सचिव भट्टराईले भन्सार छुट नदिँदा पनि चिनीको मूल्य बढेको र अभावसमेत नरहेको दावी गरे। 

‘विगतमा चिनी आपुर्तिमा समस्या हुन्छ कि भनेर सरकारी निकायलाई आयात गर्न दिएका थियौँ,’ सचिव भट्टराईले भने, ‘अहिले भन्सार छुटका लागि सरकारले निर्णय गर्न ढिलाई हुँदा पनि चिनीको अभाव भएको छैन। सबै हल्ला मात्रै हो।’

सचिव भट्टराईले चाडबाडलक्षित विशेष अनुगमन गरिने समेत बताए। व्यापारी र उपभोक्तालाई दुवैलाई सन्तुलित बनाएर लैजानुपर्ने चुनौती रहेपछि चाडबाड लक्षित विशेष नियमित अनुगमन भएकाले अनुगमन नरोकिने बताए।

त्यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल खाने तेलको विषयमा र चिनीको विषयमा हल्ला चले जस्तो कृत्रिम मूल्य वृद्धि र अभाव नरहेको भन्दै सो विषयमा बोल्न उपयुक्त नहुने बताए। 

‘खाने तेल र चिनीको विषयमा धेरै बोल्दिनँ, चिनी धेरै भयो भने पनि तितो हुन्छ भनिन्छ,’ उनले भने, ‘मूल्य हामीले निर्धारण गर्ने होइन। हाम्रो भूमिका हुने क्षेत्रमा हामी लागिपरेका छौं।’

खानेतेलको सन्दर्भमा जेठ र असारमा तराईमा अनुगमन गर्दा बजारमा हल्ला चलेजस्तो मूल्यवृद्धि नरहेको पौडेलको दावी थियो। 

सोमबार बजार अनुगमनका सन्दर्भमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल च्याम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भण्डारीले खराब नियत राखी कैफियत गर्ने व्यवसायीलाई कारबाही गर्न माग गरे। अनजानमा भएको मिस्टेकको आधारमा सरकारले जरिवाना गर्नुको सट्टा सचेतनाका लागि निर्देशन गर्नुपर्ने भण्डारीको भनाई थियो। 

नेपाल नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडौनीले व्यवसायीलाई अप्ठ्यारो पर्ने गरी अनुगमन नगरिने बताए। उपभोक्ता हित र कानुन अनुसार विभागले आफ्नो क्षेत्रमा अनुगमन गरिरहेको पुडासैनीको भनाई थियो। 

त्यस्तै, नेपाल ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले चाडपर्वको मौसममा ग्यास पर्याप्त हुने र अभाव नहुने दावी गरे। ‘हरेक वर्ष १७% ले ग्यासको उपभोग बढ्ने गरेको थियो,’ घिमिरेले भने, ‘यो वर्ष कोभिडको कारणले ३०–३५% घटेको छ। त्यसकारणले पनि ग्यासको अभाव हुने सम्भावना नै छैन।’ 

नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलियमको भण्डारण, क्षमताको ७० प्रतिशत रहेको बताए। चाडपर्वको मौसममा कुनै पनि पेट्रोेलियम पदार्थको अभाव नहुने दावी गोइतले गरे।

प्रकाशित: Sep 27, 2021| 20:34 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्