कैलाली– मान्छेको दिन सँधै एकनास कहाँ हुन्छ र!
भाग्यको भरमा मात्रै बसेर केही फल्दैन तर, कर्म गर्नेहरुको भाग्य कुन दिन चम्कन्छ, भन्न सकिंदैन।
प्रेमराज भट्ट कक्षा ९ पास भएपछि थप अध्ययनका लागि कैलाली झरे। गोदावरी नगरपालिका ४, वसन्तपुरस्थित दिदीको घरमा बसेर अध्ययन गरेका उनले एसएलसीपछि पनि पढाईलाई निरन्तरता दिए।
जेटिए तालिमसँगसँगै उच्च शिक्षा अध्ययनमा लागेका उनलाई आर्थिक समस्याले भने छोडेन।
थोरै लगानीमा पनि केही आय आर्जन गर्न सकिन्छ भनेर प्रेमले जसोतसो एक हजार रुपैयाँको जोहो गरे। हजार रुपैयाँमा च्याउको बीउ किनेर आफू बस्ने कोठामै बेर्ना तयार पारेका उनले त्यसलाई बजारमा लगेर बेचे। अनी सुरु भयो प्रेमकोे च्याउखेतीको यात्रा।
प्रेमराज भट्ट अहिले करोडौंको कारोबार गरिरहेका छन्।
०६८ सालमा पहिलो पटक च्याउ खेतीबाट कृषि पेशा सुरु गरेका उनले छोटो समयमै कुरिलो खेती, कुखुरापालन, माछापालन पनि गर्न थाले।
प्रेमको अहिले ६ बिगाहमा कुरिलो खेती छ। एक विगाहा जमिनमा पोखरी बनाएर माछापालन गरिरहेका छन् भने १० हजार बढी कुखुरा पालेका छन्।
७० सालमा घरपछाडि सानो खोर बनाएर पाँच सय चल्लाबाट कुखुरा पालन व्यवसाय सुरु गरेका प्रेमको फाराममा अहिले १० हजारभन्दा बढी कुखुरा छन्।
‘यती चाँडै यो हदसम्मको समृद्धि हासिल होला भन्ने सोचिएकै थिएन,’ प्रेम भन्छन्, ‘मेहनत, इमान्दारी र आफन्तको सहयोगले यो सबै गर्न सकेको छु।’
जेटिए अध्ययन गरेका प्रेमले शिक्षा शास्त्र संकायमा स्नातकोत्तर गरेका छन्। ‘कृषिलाई निरन्तरता दिनकै लागि जेटिए पढेँ,’ उनी भन्छन्, ‘पैसा आउन थालेपछि थप पढ्न सजिलो भयो, स्नातकोत्तरसम्म अध्ययन गरें।’
सानै भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने लागेरै जागिरका अन्य अवसर छोडेर स्वरोजगार थालेको उनी बताउँछन्।
च्याउ खेतीबाट व्यवसाय सुरु गरेका प्रेमले अन्य व्यवसायसँगै पिके पोल्ट्री एण्ड कृषि सप्लायर्स पनि सञ्चालन गरिरहेका छन्। उनको सप्लायर्सले कुखुरा पालनका लागि चाहिने दाना लगायतका सम्पूर्ण सामाग्री किसानलाई बेच्ने गरेको छ।
कुखुरा पालनसँगै उनले बंगुर पालन, च्याउ र कुरिलो खेती पनि गरिरहेका छन्। जेटिएको तालिम र आफ्नै अनुभवबाट सीप हासिल गरेका उनी अन्य किसानलाई निशुल्क तालिम पनि दिन्छन्।
०७४ मा १५ लाख रुपैयाँबाट सुरु गरिएको पिके पोल्ट्री एण्ड कृषि सप्लायर्सको मात्रै वार्षिक कारोबार पाँच करोडभन्दा माथिको छ। सामान सप्लाईका लागि आफ्नै गाडी छ।
कैलालीको तेघरीमा एउटा घर र धनगढीमा अर्को घर बनाएका उनले पछिल्लो समय अत्तरियामा समेत घर खरिद गरेका छन्।
‘गोजीमा एक हजार रुपैयाँ थिएन, अहिले तीन ठाउँमा घर बनाइसकें’, प्रेम भन्छन्, ‘अरुको सहयोगमा एक हजार रुपैयाँबाट व्यवसाय सुरु गरेर अहिले ठाउँ ठाउँमा सम्पत्ति जोड्न सकेको छु।’
उनले ११ जनालाई प्रत्यक्ष र ३०० जनलाई अप्रत्यक्ष रोजगारी दिएका छन्।
कुनै पनि व्यवसाय गर्दा चुनौती र असहजता अवस्था आए पनि आफ्नो अठोट र सीपका कारण कुनै न कुनै दिन सफलता हासिल भै छाड्ने उनी बताउँछन्।
आफूहरुजस्ता वास्तविक किसानलाई सरकाले नहेरको उनको गुनासो छ। भन्छन्, ‘सरकारले पहुँचवाला र जमिन भए पनि आँफै नगर्नेलाई अनुदान दिने गरेको सुनेको छु। तर, मैले अझैसम्म सरकारबाट कुनै अनुदान वा सहुलियपूर्ण कर्जा लिन सकेको छैन।’
उनको सुझाव छ,‘नेपालमा गाउँ गाउँमा खेती किसानी गरेर परिवार पालिरहेका किसान छन्। सरकारले विशेष संयन्त्र बनाएर किसानलाई हात हातमा अनुदान सहयोग नगरेसम्म नेपालीको निर्वाहमुखी कृषि कहिल्यै उठ्न नसक्ने उनको अनुभव छ।