काठमाडौं- अमेरिकाको राष्ट्रपतिका लागि भएको निर्वाचनको जारी मतगणनामा डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेनले अग्रता कायमै राखेका छन् ।
उनले शुक्रबार बिहानसम्ममा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५० इलोक्टोरल मतले पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् ।
बाइडेनले अहिलेसम्म २६४ इलोक्टोरल मत पाएका छन् भने वर्तमान राष्ट्रपति ट्रम्पले २१४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका छन्।
अमेरिकामा कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।
बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन अब ६ मत मात्रै आवाश्यक पर्छ । गणना गर्न बाँकी ठाउँबाट उनले सहजै ६ मत प्राप्त गर्ने देखिएको छ।
अमेरिकाका कुल ५० राज्य मध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो।
अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिएकाले उनको जितको संभावना बढी देखिएको हो।
अहिले मतगणना भइरहेका मध्ये पेन्सील्भानीया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा बाइडेन अगाडि देखिएका हुन।
अहिलेसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका ट्रम्पले जित्ने संभावना न्युन देखिएको छ। उनी दुई ठाउँमा मात्रै अगाडि देखिएका छन्।
आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन्।
यस्तै जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाएका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको बीबीसीले लेखेको छ ।
सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाएका थिए । अहिले बाइडेनले ७ करोड २७ लाखभन्दा बढी मत पाएका छन् ।
केही राज्यमा मत गणना भैरहेको छ । अन्तिम मपरिणाम आउन भने अझै केहि दिन लाग्न सक्ने निर्वाचन अधिकारीहरुले बताएका छन् ।