काठमाडौं- अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को नतिजा आउने क्रम जारी छ।
समाचार एजेन्सी एपीका अनुसार अहिलेसम्म राष्ट्रपति एवं रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको खातामा २१३ इलेक्टोरल मत परेको छ, जबकि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले २३८ इलेक्टोर भोट जितेका छन्।
अमेरिकाको राष्ट्रपति पदका लागि कुनै पनि उम्मेदवारलाई विजयी हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तिमा २७० मत प्राप्त गर्नुपर्ने हुन्छ।
मतगणनाको जारी परिणाम अनुसार पेन्सिलभेनिया, मिसिगन, विस्कन्सिन र नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन्। बाइडेनले एरिजोनामा जीत हासिसल गरेका छन्, जहाँ २०१६ को निर्वाचनमा ट्रम्पले बाजी मारेका थिए।
अहिलेसम्म ट्रम्पले केन्टकी, वेस्ट भर्जिनिया, साउथ क्यारोलाइना, अलबामा, ओकलाहोमा, मिसीसिपी, टेनेसी, अर्केन्सा, इन्डियाना, नर्थ डकोटा, व्योमिङ, लुईजियाना, नेब्रस्का, केन्सस, मिजुरी, इडाहो, युटा, ओहायो, मोन्टेना, आयोवा, फ्लोरिडा, टेक्सासमा जित हासिल गरेका छन्।
त्यसैगरी बाइडेनले भर्मोन्ट, भर्जिनिया, इलिनियस, मेरिल्यान्ड, डेलवेयर, न्यू जर्सी, कनेक्टिकट, रोड आइल्यान्ड, म्यासाचुसेट्स, न्यू मेक्सिको, न्यू योर्क, डिस्ट्रिक्ट अफ कोलम्बिया, कोलराडो, ह्याम्पसायर, क्यालिफोर्निया, ओरेगन, वासिङटन, हवाई, मिनेसोटा, एरिजोना र मेनमा बाजी मारेका छन्।
ट्रम्पको झुटो दाबी
बहालावाला राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चुनाव जितिसकेको भुटो दाबी गरेका छन्। ह्वाइट हाउसमा समर्थकलाई सम्बोधन गर्र्दै उनले भने, ‘हामीले यो निर्वाचन जित्ने तयारी गरेका थियौं र जितिसकेका पनि थियौं।’ उनले निर्वाचनमा धाँधली हुन लागेको भन्दै थपे, ‘अमेरिकी जनतासँग धोका भएको छ, यो हाम्रो देशका लागि लज्जास्पद हो।’
उनले मतगणना रोक्नका लागि आफू सर्वोच्च अदालत जान लागेको पनि बताए। यसअघि उनले डेमोक्रेट्सले निर्वाचनमा गडबडीको कोशिश गरिरहेको आरोप लगाएका थिए।
हुलाकबाट आएका मतमा कानुनी विवादको सम्भावना
अमेरिकाका चर्चित अधिवक्ता बेरी रिचर्डले हुलाकमार्फत हालिएका भोटले गर्दा कानुनी विवाद बढ्न सक्ने र मतगणना कार्य पछाडि धकेलिने सम्भावना रहेको बताएका छन्।
अमेरिकामा आम निर्वाचन ३ नोभेम्बरमा भए पनि कतिपय राज्यहरुमा त्यस अगावै हुलाक मार्फत वा निर्वाचन कार्यालयमा गएर मतदान गर्न पाइन्छ।
ट्रम्पले भने हुलाकमा खसालिएका मत ३ नोभेम्बरभन्दा पछि आइपुगे भने तीनको गणना गर्न नपाइने बताएका छन्। अमेरिकामा करिब १० करोड मत हुलाकमार्फत खसालिएको छ।
सडकमा प्रदर्शनकारी
अमेरिकामा अहिले राति छ र मतगणना जारी छ। तर राजधानी वासिङटन डिसीका सडकमा राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्ध प्रदर्शन भइरहेको छ।
सडकमा मार्च गरिरहेका प्रदर्शनकारीले ट्राफिक रोकेका छन् भने ‘हामीले न्याय नपाउने हो भने उनीहरुले पनि शान्ति पाउने छैनन्’ भन्ने नारा लगाइरहेका छन्।
प्रदर्शन शान्तिपूर्ण रहेको बताइए पनि ह्वाइट हाउस बाहिर केही झडपका खबरहरु आइरहेका छन्।
क्यालिफोर्निया, नर्थ क्यारोलाइना, पोर्टल्यान्ड, ओरेगन र न्यूयोर्क सिटीमा पनि विरोध प्रदर्शन भएका छन्।