काठमाडौं– भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन्। मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो।
मुम्बई प्रहरीको एक टोली आज बिहानै गोस्वामीको घर पुगेर उनलाई भ्यानमा हालेर लगेको थियो।
समाचार संस्था पीटीआईका अनुसार गोस्वामीलाई आत्महत्या दुरुत्साहन मुद्दामा समातिएको हो। ५३ वर्षीय एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप गोस्वामीलाई लागेको छ।
घटना सन् २०१८ को हो। मे २०१८ मा एक इन्टेरियर डिजाइनरले गोस्वामीको रिपब्लिक नेटवर्क स्टुडियो डिजाइन गरेको रकम भुक्तान नगरेको भनेर चिठी लेखेका थिए। त्यसको केही समयमा ती डिजाइनरले आत्महत्या गरेका थिए।
प्रहरीले भने गोस्वामीलाई कुन मामलामा पक्राउ गरिएको हो भनेर आधिकारिक रुपमा बताएको छैन।
मुम्बई प्रहरीको टोली गोस्वामीको घरभित्र पसेको र घम्साघम्सी भएको भिडियो फुटेज रिपब्लिक टिभीले प्रशारण गरिरहेको छ। पहिले नै फाइल बन्द भएको मामलामा गोस्वामीलाई पक्राउ गरिएको टिभी च्यानलले बताएको छ।
यसैबीच, केन्द्रीय सूचना प्रशारण मन्त्री प्रकाश जावडेकरले गोस्वामी पक्राउको निन्दा गरेका छन्। यो घटनाले इमर्जेन्सीको समयको याद दिलाएको पनि उनले बताएका छन्।