जनकपुर- उमेरले ६० काट्नै लागेका राजेश्वर पण्डित माटाका सामान बनाउन खप्पिस छन्। उनलाई संघारमै आइपुगेका पर्व लक्ष्मीपूजा र छठका लागि दियो, हात्ती, ढकना, सर्वा लगायतका सामग्री बनाउने चटारो छ।
पर्वका बेला राजेश्वर बिहानैदेखि व्यस्त हुन्छन्। ४० वर्षदेखि माटोका कलात्मक सामग्री बनाइरहेका जनकपुरधाम– २४ बसहियाका पण्डितको पुर्ख्याैली पेसा पनि यही हो।
‘माटोका सामग्री बढी बिक्री हुने भनेको दीपावली र छठमै हो, सधैँ यही पेसाको भर पर्ने हो भने त घर चलाउन सकिँदैन। त्यसैले सिजनका बेला पुर्ख्यौली पेसा र अरु बेला अन्य काम गर्छु,’ उनले भने। उनका अनुसार सिजनमा माटोका सामग्री बिक्री गरेर ३५ हजारससम्म आम्दानी गर्छन्।
राजेश्वरको जस्तै दैनिकी छ, वडा नम्बर १२ का ५१ वर्षीय रामबली पण्डितको पनि। १५ वर्षदेखि माटोका भाँडा बनाइरहेका उनले पनि एक सिजनमा ३० देखि ३५ हजार रुपैयाँसम्म आम्दानी हुने बताए।
‘आजभोलि विद्युत्तीय बल्ब र झिलीमिलीको प्रयोग बढेका कारण माटोका दियोको बिक्री निकै कम छ,’ रामबली भन्छन्। विद्युतीय झिलिमिलीलाई जति पनि तिर्न तयार हुने ग्राहकले माटोको दियोमा खर्च गर्न कञ्जुस्याइँ गरेको उनको अनुभव छ।
‘एउटा माटोको कलश पाँच वर्षअघि ५० रुपैयाँमा बेचेको थिएँ, आजसम्म पनि भाउ उही छ,’ उनी भन्छन्। उनका अनुसार अरु महँगीले आकाश छोइसक्दा दियोको भाउ भने तीन वर्षदेखि बढेको छैन। उनले एउटा दियो २ रुपैयाँमा बेचिरहेका छन्।
अवस्था यस्तै रहे कुमालेहरू पेशाबाट विस्थापित हुने दिन टाढा नरहेको उनी बताउँछन्।
जनकपुरधाम– १२ कुवाका ७० वर्षीय बिल्टु पण्डित पुर्ख्याैली पेसा जोगाउनका लागि मात्र माटोका सामग्री बनाइरहेको बताउँछन्। भन्छन्, ‘छोरीसँगै हुँदा उनले सहयोग गर्थिन्, अब उनको बिहे भइसक्यो। आम्दानी नहुँदा कामदार राख्ने वा अरुको सहयोग लिने अवस्था पनि छैन।’
बिल्टुलाई सघाउने छोरीको बिहे भइसके पनि रामबलीलाई भने सिजनका बेला ९ कक्षामा पढ्दै गरेकी छोरी रुपाले सघाउँछिन्। ‘हिजोआज विद्यालय पनि बन्द छ, त्यसैले केही बेर घरमै पढ्छु र बाँकी समय बुवालाई सघाउँछु,’ रुपाले भनिन्।
सबै काम हात र शारीरिक श्रमबाटै गर्नु परेकाले पनि लागत महँगो भएको उनीहरु बताउँछन्। ‘देशमा तीन थरी सरकार छन्, कसैले प्राविधिक सहयोग गरिदिए सजिलो हुन्थ्यो,’ बिल्टु भन्छन्।
रामबली भन्छन्, ‘नगरमा मेयर, प्रदेशमा मुख्यमन्त्री, काठमाडौंका प्रधानमन्त्री जो बने पनि हाम्रा लागि केही फरक पर्दैन।’
बिल्टु पण्डित भन्छन् ‘एक लट दियो–कलश तयार पार्न १० देखि १५ दिन लाग्छ, उता बजारमा धेरै माग छैन। अहिलेको यो मेहनत पेसा जोगाउनका लागि भनेजस्तो मात्रै छ।’
जनकपुरधाम– २४ का वडा सदस्य रामबाबु पण्डित श्रम अनुसारको आम्दानी नहुँदा युवा पुस्तामा यो पेसाप्रति वितृष्णा जागेको बताउँछन्। ‘पहिले दिपावली र छठमा माटोकै दियो र अन्य भाँडा चाहिन्थ्यो। विकल्प पनि धेरै थिएनन्, अर्कोतिर माटोका भाँडा पवित्र मानिन्थ्यो। अब सबै विद्युत्तीय झिलमिलिया बल्वमा आकर्षित भएका छन्।’
अब राजेश्वर, बिल्टु र रामबली जस्ता केही कुमालेहरू मात्र यो पेसामा छन्। माटो किन्नेदेखि दाउरासम्मको मूल्य र एक महिनाको मेहनतले मनग्य आम्दानी नभएपछि युवामा यो पेसाप्रति आकर्षण छैन।