काठमाडौं- जर्मनीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेपछि देशभर आंशिक लकडाउन गरिएको छ।
संक्रमणको तीव्रता कम गर्न सोमबारदेखि एक महिने आंशिक लकडाउन गरिएको हो। जर्मनीमा अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसहरु कोरोना संक्रमणको चपेटामा आइसकेका छन्।
आंशिक लकडाउनमा रेष्टुराँ बन्द भएका छन्। सार्वजनिक स्थलमा एकैपटक दुईभन्दा धेरै परिवारले भेटघाट गर्न पाउने छैनन्। स्विमिङ पुल र जिमखाना बन्द गरिएका छन्। तर पसलहरु खोल्न अनुमति दिइएको छ भने चर्चमा प्रार्थना र विरोध प्रदर्शनलाई पनि छुट दिइएको छ।
जर्मनीमा कोरोना भाइरसको स्थिति अनुगमन गर्ने संस्था रोबर्ट कोख इन्स्टिच्युटले २४ घण्टामा १२ हजार संक्रमित थपिएको जनाएको छ।
केहीले संक्रमण नियन्त्रणका लागि आंशिक लकडाउनमात्र पर्याप्त नभएको बताइरहँदा चान्सलर अंगेला मर्केलले आगामी १० दिनमा संघीय र राज्यका नेताहरुसँग बैठक गरेर आगामी रणनीति तय गरिने बताएकी छन्।
स्वास्थ्यमन्त्री येन्स स्पानले एकअर्कासँग सम्पर्क गर्न, मास्क लगाउन र भौतिक दूरी कायम गर्न जनतासँग अपिल गरेका छन्।
यसैबीच बेलायतका राजकुमार विलियमलाई गएको अप्रिल महिनामा कोरोना भाइरसको संक्रमण भए पनि त्यसलाई सार्वजनिक जानकारीमा नल्याएको बताइएको छ। विलियमले आफूलाई संक्रमण भएको घोषणा गर्दा जनतामा त्रास फैलने चिन्ताले सार्वजनिक नगरिएको बताएका छन्।
बेलायती अखबार सनमा छापिएको रिपोर्ट अनुसार बेलायती राजगद्दीको दोस्रो वरियतामा आउने राजकुमार विलियमलाई संक्रमणका कारण सास फेर्न समस्या भएको थियो। उनी आफ्ना पिता राजकुमार चाल्र्स संक्रमित भएकै बेला तिर संक्रमित भएका थिए।
-रोयटर्स / एपी