काठमाडौं- अस्ट्रेलियाको राष्ट्रिय हुलाक सेवाकी कार्यकारी प्रमुखले राजीनामा दिएकी छन्।
कर्मचारीलाई महँगो उपहार दिएको भन्दै चौतर्फी विरोध भएपछि कार्यकारी प्रमुख क्रिस्टिन होल्गेटले राजीनामा दिएकी हुन्।
उनले वर्षभरि राम्रो काम गरेको भन्दै हुलाक सेवाका चार जना कर्मचारीलाई २० हजार डलरबराबरका घडी उपहार दिएकी थिइन्।
सन् २०१७ देखि हुलाक विभागको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेकी होल्गेटकाे जनताको पैसा उपहार बाँडेर सकेको भन्दै आलोचना भएको थियो।
उनले सन् २०१८ मा आफ्ना कर्मचारीलाई महँगा ब्राण्ड कार्टिएर घडी उपहार दिएको हालै एक संसदीय समितिले अनुसन्धानका क्रममा पत्ता लगाएको थियो।
यो घटनापछि प्रधानमन्त्री स्कट मोरिसनले आफू समाचार सुनेर ‘निराश’ भएको बताएका थिए।
अस्ट्रेलियामा हुलाक विभाग एउटा स्वायत्त बोर्डबाट सञ्चालित निकाय हो। तर कर भुक्तानीकर्ताको तर्फबाट अस्ट्रेलिया सरकारको स्वामित्वमा रहेको छ।
गेल्गेटले आज बोर्डमा राजीनामाको प्रस्ताव गरेकी हुन्।