शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र वाइडनबीच कडा प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र वाइडनबीच कडा प्रतिस्पर्धा

कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्त्वपूर्ण भएको विश्लेषकको भनाइ छ। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

वासिङ्टन डीसी – अमेरिकामा राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदै छ।  यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। 

National life

कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्त्वपूर्ण भएको विश्लेषकको भनाइ छ। 

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन। 

सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपछि एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ।  

विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बिमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो भने यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो।

Laxmi sunrise bank
kumari

हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो संक्रमणले गाँजेको छ।

त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र किएको अवस्थामा आइपुगेको छ।

त्यसैले यो निर्वाचनका अहिलेका एजेन्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ।    

आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाउ गर्दै आएको छ।

३२ करोड नागरिक रहेको अमेरिकामा मतदाताको संख्या २४ करोड छ। 

अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ।  हुलाकमार्फत मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साताअगाडिबाट सुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ) मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएको छ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ। यो कुल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो। 

निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको कम वर्चस्व रहेको सिनेट र कांग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ।  एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट छ। 

उता तल्लो सदन भनेर चिनिने कांग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित वर्चस्व छ। 

यसपटक सिनेटको ३३ सिट र कांग्रेसको ४३५ सिटको निर्वाचन हुँदै छ। 

सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने कांग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। 

विगत वर्षमा सर्वेक्षण नतिजालाई निकै विश्वसनीय मानिए पनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ। तर पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चारमाध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन्।

यसपटक हरेक विषयमा भौतिकरुपमा भन्दा प्राविधिकरुपमा मतदाता र उमेदवारहरुबीच अन्तरक्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु पनि छन्। 

अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यो पटकको निर्वाचनले प्रभावित पारेको छ।

नेपाली भाषीको निर्वाचनका समयमा ठोस प्रभाव पार्न नसक्ने भए तापनि नेपाली मूलको जनघनत्व बढी भएको स्थानमा भने कोही रिपब्लिकन त कोही डेमोक्र्याट पार्टीका उम्मेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा समेत होमिएको बताउँदै आएका छन् । 

डेमोक्र्याट पार्टीकोतर्फबाट मेरिल्यान्ड जनरल एसेम्बलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन हयारी भण्डारीले आफनो अगुवाइमा ‘नेप्लिज फर वाइडेन’ अभियान सञ्चालन गरेका छन्।

यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवाहरुलाई चुनावी रणनीतिबारे भर्चुअल अन्तरसंवाद गराएका थिए।  

भण्डारीले भने, ‘हामीले राजनीतिक रुपमा अमेरिकाको मूलधार र यहाँको प्रजातन्त्रको अभ्यासमा भावी पुस्तालाई कसरी समाहित गराउने भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। व्यक्तिगत रुपमा म र हाम्रो समूहले पूर्व राष्ट्रपति बराक ओवामाको पालादेखि नै नेप्लिज अमेरिकनलाई मूलधारको राजनीतिमा समावेश गराउने पहल गरिएको थियो।’ 

डेमोक्र्याट पार्टीको एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर्स् मेरिल्यान्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले भने, 'हामी नेप्लिज अमेरिकनको चुनावी प्रक्रियामा सामेल भएको धेरै भएको छैन तर यो प्रक्रियामा सामेल भएर आफ्नो अधिकार उपयोग गर्नु सबैको कर्तव्य हो।'  

उता रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा बस्दै आएका ‘एनआरएन आईसीसीका अमेरिकाज क्षेत्रका डीआरसी’ रामसी पोख्रेल आफू ‘रजिस्टर्ड रिपब्लिकन’ भएको बताउँछन्। उनले भने, ‘हामीले स्थानीय, राज्य र सङ्घीय सरकारमा हामी र हाम्रो एजेन्डा बुझाउन, अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न राजनीतिमा सामेल हुनुपर्छ।' 

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन। यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ। कुल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन्। कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण छन्। 

सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ। त्यसमध्ये सबैभन्दा बढी इलोक्ट्रोल भोट ५५ जना भएको राज्य क्यालिफोर्निया हो भने सातवटा राज्यबाट तीनतीन भोटको गणना हुन्छ। 

यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुने बताइएको छ। 

निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने बताउँदै आइएको छ। सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत् गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन्। -रासस

प्रकाशित: Nov 02, 2020| 07:37 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।