सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने भएका छन्।
मन्त्रीहरू नै आफूबिरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि मुख्यमन्त्रीले उनीहरूलाई बरखास्त गर्न लागेका हुन्।
सम्भवतः केन्द्रको हस्तक्षेप नभए मुख्यमन्त्रीले आज नै मन्त्रीद्वयलाई बखास्त गर्ने स्रोतले जनाएको छ। ‘हिजो नै मन्त्रीमण्डल फेरबदलको खाका तयार भएको हो,’ मुख्यमन्त्री निकट एक सांसदले भने, ‘केन्द्रको हस्तक्षेप नभए आज नै दुई जना मन्त्री हटाएर तीन जना मन्त्री नियुक्त हुन्छन्।’
मन्त्री रावल र बुढा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन्। तीं सांसदका अनुसार मन्त्रीद्वय बुढा र रावललाई हटाएर बरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरू करवीर शाही, अमरबहादुर थापा र चन्द्रबहादुर शाहीलाई मन्त्री बनाइने छ।
कर्णाली प्रदेशमा एक वर्षदेखि भौतिक पूर्वाधार विकास मन्त्रालय खाली छ। कात्तिक ७ गते सरकारको पक्षमा संसदीय दलको बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका छन्।
मुख्यमन्त्रीले आफूलाई हटाउन लागेको सूचना पाएपछि सामाजिक विकास मन्त्री रावलले राजीनामा दिने संकेत गरेका छन्।
‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु,’ मन्त्री रावलले आइतबार विहान फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिने संकेत गरेका हुन्।
असोज २५ गते १८ जना सांसदहरुले मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेकपा कर्णालीमा विवाद चुलिएको हो।