काठमाडौं- कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएदेखि विदेशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो। सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।
यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छैन।
विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन्। तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।
गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको संघले जनाएको छ।