धनगढी– पत्रकारिता पेसाबाट ‘करिअर’ सुरु गरेका जयबहादुर बुढा छोटो समयमै प्रकाशक बन्न सफल भए। सञ्चारकर्मीबाट मालिकमा पदन्नोति भएका उनलाई आत्मसन्तुष्टि र प्रतिष्ठा त मिल्यो, तर घरखर्च जुटाउन मुस्किल।
त्यसपछि उनले अर्को व्यवसायमा पनि हात हाले। पत्रकारिता र व्यवसाय सँगसँगै अगाडि बढाइरहेका जयबहादुर धन, मान र शान तीनै थोकको सम्पन्नतातिर लम्किरहेका छन्।
२०६३ सालमा क्याम्पस पढ्दा कैलालीको स्थानीय दैनिक पत्रिकामा समाचारदाताका रूपमा काम थालेका जयबहादुर बुढा अर्को वर्ष फूलबारी एफएममा कार्यक्रम सञ्चालक बने। पत्रकारिताको धीत मरेन। यही पेसालाई थप अगाडि बढाउन आफैंले लगानी गर्ने अठोट गरे। अनि २०६६ सालमा एउटा साप्ताहिक पत्रिका दर्ता गरेर सम्पादक बने।
पत्रिका चलाउन सजिलो थिएन। पर्याप्त पैसा थिएन। त्यसैले कृषि विकास बैंकबाट पाँच लाख रुपैयाँ ऋण लिए। क्यामरा, ल्यापटप, मोटरसाइकल र आवश्यक सामग्री खरिद गरे। कार्यालयका लागि कोठा भाडामा लिए। बिस्तारै पत्रिका चल्न थाल्यो तर घर खर्च चलेन। जिम्मेवारी थपिँदै गयो। साँवासँगै ब्याज पनि बढ्दै गयो।
साप्ताहिक पत्रिकाबाट गुजारा नचल्ने भएपछि २०६९ सालमा भजनीमा दुई वटा फ्रिज किनेर डेरी पसल राखे।
पसलमा पत्नीले समय दिइन्। व्यापारमा नाफा हुन थालेपछि उनले २०७१ सालमा बडीमालिका दुग्ध डेरी उद्योग दर्ता गरे। डेरीमा अहिले १२ वटा डिपफ्रिज छन्। पसलमा दैनिक सात सय लिटर दूध बिक्री हुन्छ।
जयबहादुर दम्पतीले दही, खोया, छुर्पी, घिउ, केक पसलमै तयार गर्छन्। गर्मीयाममा आइसक्रिम बेच्छन्। डेरी उद्योगबाट लाखौं आम्दानी हुन थालेको छ।
बूढाले डेरी व्यवसाय व्यवस्थित बनाउन भजनी बजारको मुख्य चौराहमा घर बनाइरहेका छन्। तीन सटरसहितको ६ कोठे भवन तयार भएपछि व्यवसाय विस्तार गर्ने योजनामा छन् उनी।
डेरीसँगै बंगुरपालन
उनी डेरीमा सीमित भएनन्। २०७३ सालमा बंगुरपालन सुरु गरे। पहिला तीन हजार पाँच सय रुपैयाँमा एउटा पोथी बंगुर खरिद गरे।
‘डेरीमा खेर गएका वस्तु व्यवस्थापन गर्न बंगुर पालेको थिएँ’, जयबहादुरले भने, ‘बंगुरले एक वर्षमै पाँचवटा पाठा र छवटा पाठी जन्म्यायो। थप उत्साहित भएँ।’
अनि उनले यो व्यवसाय पनि विस्तार गरे। कान्द्रा नदीछेउमा रहेको सात कठ्ठामा बंगुरका लागि खोर निर्माण गरे। बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालि दर्ता गरे। खरले छाएर खोर बनाए। खोरमा २५ वटा पोथी र दुई भाले बंगुर राखे।
१५ लाख रुपैयाँमा दुई कठ्ठा जग्गा खरिद गरेका बूढाले पाँच कठ्ठा जग्गा लिजमा लिएका छन्।
वार्षिक १४ प्रतिशत ब्याजदरमा ऋण लिएर सामान्य खोर बनाएर बंगुरपालन थालेका उनले २०७६ सालमा सात प्रतिशत ब्याजदरमा ४८ लाख रुपैयाँ कृषि ऋण लिए। पुरानो ऋण चुक्ता गरे। बाँकी रकमले खोर व्यवस्थित बनाएको उनी सुनाउँछन्।
जयबहादुरले भने, ‘चर्को ब्याज तिर्न नपरेपछि व्यवसायमा थप सजिलो भयो।’
बंगुर फार्ममा वार्षिक चार सय ५० हाराहारीमा पाठापाठी उत्पादन हुन्छन्। एउटा पाठापाठी चार हजार रुपैयाँमा बिक्री हुन्छ। उनी मासुका लागि वार्षिक २० वटा बंगुर बेच्छन्।
एउटा बंगुरको मासुबाट ३० हजार रुपैयाँ आम्दानी हुने उनले सुनाए। बंगुरको पाठाको मूल्य बढेको छ। उनले भने, ‘अब एउटा पाठापाठी पाँच हजार रुपैयाँमा बिक्री गर्छु।’
बंगुर फार्ममा १२ जना कामदार छन्। कर्मचारी खर्च, दाना तथा खोर व्यवस्थापन लगायतका काममा वार्षिक साढे १३ लाख रुपैयाँ खर्च हुन्छ।
पाठापाठी र मासुका लागि बंगुर बेचेर उनले वार्षिक २७ लाख रुपैयाँको कारोबार गर्दै आएका छन्। सबै खर्च कटाएर वार्षिक १३ लाखजति आम्दानी हुने उनी बताउँछन्।
बंगुरको दाना निकै महँगो छ। दाना नखुवाए बंगुर फस्टाउँदैनन्। बंगुरपालनमा बजारीकरण र कृत्रिम गर्भाधानका समस्या छँदै छ। उनले अहिलेसम्म सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरे।
व्यक्तिगत प्रयासमा व्यवसाय अगाडि बढाइरहेका उनी भन्छन्, ‘राज्यले थोरै सहयोग गरे पनि काम गर्न थप हौसला बढ्ने थियो।
पत्रकार जयबहादुर बूढाको नामबाट चिनिएका उनको अहिले पत्रकार र किसान दुवैको पहिचान बनेको छ। साप्ताहिक रूपमा प्रकाशन भइरहेको ‘हाम्रो युग दर्पण’ का प्रकाशक जयबहादुर भन्छन्, ‘बल्ल आर्थिक रूपमा सन्तुष्ट हुन थालेको छु। पत्रिका पनि साथीहरुले हेरिरहनु भएको छ, व्यवसायमा पनि राम्रै सहयोगी पाएको छु।’