लामो समयदेखि सुनसान रहेको सौराहामा दसैंदेखि पर्यटकको चहलपहल बढेको छ।
लकडाउन र निषेधाज्ञा खुलेको र पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो। अहिले व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन्।
पर्यटकको आगमन बढेपछि होटल सञ्चालकले बिदामा रहेका कर्मचारी डाकेर व्यवस्थापन गरिरहेका छन्।
भट्टराईका अनुसार सबै पर्यटक स्वदेशी हुन्। काठमाडौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु आइरहेको भट्टराई बताउँछन्। “यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन,” उनले भने।
गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन्। सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन्।
पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ। विदाका बेला जिल्लाभित्रकै पर्यटकहरु सौराहा घुम्न जाने र रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु छन् भने बाहिरी जिल्लाका पर्यटक सौराहामा नै बस्ने गरेका छन्।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन्। व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ,” उनले भने।
राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उहाँले जानकारी दिए।
पर्यटक आएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र दैनिक जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ। सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन्।
क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष एवं जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दसैंसँगै पर्यटक बढेपछि उत्साहित भएको बताउँछन्।
आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उनले कोभिड सङ्क्रमण रोकथामका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको बताए।
-रासस