पोखरा- उच्च अदालतका पूर्व न्यायाधीश जगतप्रसाद श्रेष्ठको निधन भएको छ।
सुगर, प्रेसर लगायत रोगबाट ग्रसित उनको उपचारकै क्रममा शुक्रबार साँझ पोखराका फेवासिटी अस्पतालमा मृत्यु भएको हो।
बिहीबारमात्र मधुमेह तथा थाइराइड सेन्टर न्युरोडमा सुगरको नियमित परीक्षण गराएका उनलाई पिसाबको खराबी देखिएको थियो।
सामान्य ज्वरो समेत आएका उनलाई थप असहज भएपछि शुक्रबार साँझ फेवासिटी अस्पताल लगिएको थियो।
डा. रवीन्द्रप्रसाद श्रेष्ठले अस्पताल आउनुअघि नै उनको निधन भइसकेको बताए।
डा. श्रेष्ठले भने, ‘उहाँमा समस्या छ भनेर एकजना दाइले भन्नुभयो, ल अस्पताल ल्याएर भर्ना गरौं न त भनेर बोलाइएको हो, ल्याउँदै गर्दा उहाँको सास गइसकेको रहेछ।’
पर्वतको फलेवासमा जन्मेका श्रेष्ठ हाल पोखराकै मालेपाटनमा बस्दै आएका थिए।
०४३ सालमा शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका उनी ०५८ सालमा जिल्ला न्यायाधीश भएका थिए।
०७४ सालमा उनी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। गएको माघमा उनी उच्च अदालत पोखराबाट उमेर हदका कारण सेवानिवृत्त भएका थिए।