पोखरा- दसैंमा बढेको चहलपहलसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित ह्वात्तै बढेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा शुक्रबार ९ जिल्लाका २६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ९३४ नमुना परीक्षण गर्दा २६९ जनामा कोरोना पुष्टि भएको हो।
परीक्षण गरिएकामध्ये यतिधेरैमा कोरोना पोजेटिभ देखिएको यो पहिलोपटक हो। पछिल्लो आधा महिनामा प्रदेशमा १८ सय १५ संक्रमित थपिएका छन्।
निर्देशनालयका अनुसार प्रदेशमा दैनिक भेटिनेमध्ये आधाभन्दा बढी संक्रमित कास्कीका छन्।
शुक्रबार साँझसम्म कास्कीका २३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ७४० जना निको भएका छन् ।
निर्देशनालयका अनुसार कास्कीपछि नवलपुरमा धेरै संक्रमित छन्। नवलपुरका १६ सय ६३ जनामा पोजेटिभ देखिएकोमा ११ सय २ संक्रमित निको भएका छन्। शुक्रबार नवलपुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको छ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७३ सय १६ पुगेको छ। तीमध्ये ४२ सय २१ (५८.२९ प्रतिशत) निको भएका छन्।
मनाङ संक्रमण शून्य
हिमाली जिल्ला मनाङ फेरि १ पटक सक्रिय संक्रमित शून्य जिल्ला भएको छ । पुष्टि भएका सबै संक्रमित निको भएको र उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।
गण्डकी प्रदेशमा ८८ हजार ६४६ स्वाब परीक्षण गरिएको छ। गण्डकी प्रदेशमा २ सरकारी र १ निजी गरी ३ वटा ल्याबमा कोरोना परीक्षण हुन्छ।
प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफकेयर डाइग्नोस्टिकमा कोरोना परीक्षण भइरहेको छ।
७५ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार ३ जिल्लाका ३ संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७५ पुगेको हो।
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका २५, नवलपुरका १४, तनहुँका १२, गोरखाका ८, स्याङ्जाका ६, बागलुङका ४, लमजुङका ३, म्याग्दीका २ र पर्वतका १ जना छन्।
म्याग्दी सदरमुकाम एक साता बन्द
म्याग्दी सदरमुकाम बेनीमा अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवा एक साताका लागि बन्द भएका छन्।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि शुक्रबार राति १२ बजेबाट अत्यावश्यकबाहेक सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
बेनी नगरपालिकाको अनुरोध, म्याग्दी उद्योग वाणिज्य संघको आग्रह र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको वैठकले अत्यावश्यकबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार आउँदो २१ गतेसम्म बेनी नगरपालिका र वडा कार्यालयहरु, सदरमुकामस्थित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा बन्द हुने भएका छन्।
औषधी पसल २४ सै घन्टा खुला हुनेछन्। अन्य अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै खुल्ने म्याग्दीका प्रजिअ अधिकारीद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, ‘अत्यावश्यक बाहेकका सेवाहरु यही कात्तिक १४ गते शुक्रबार राति १२ बजेदेखि आउँदो २१ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय भएको छ।
उक्त अवधिमा अत्यावश्यक कामबाहेक सुरक्षा र स्वास्थ्यका मापदण्डहरु पालना नगरी घर बाहिर ननिस्कन नगरवासीमा आह्वान समेत गरिएको छ।
म्याग्दी जिल्लामा कोरोना भाइरसका संक्रमित २३ जना छन्। तीमध्ये बेनीको आईशोलेसनमा ३ जना, होम आईशोलेसनमा १५ र बाबियाचौरको संस्थागत आईशोलेसनमा ५ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए।
कुश्मा बजार पनि एक साता बन्द
पर्वतको सदरमुकाम कुस्माबजार पनि शुक्रबार रातिदेखि एक सातासम्मका लागि बन्द गरिएको छ।
पर्वतको कुस्माबजारमा समुदायमा कोरोनाको संक्रमण फैलिएपछि डिसिसिएमसीको बिहीबार सम्पन्न बैठकले १ साता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
डिसिसिएमसीले कात्तिक १४ गते शुक्रबार राति १२ बजेदेखि २१ गतेसम्म कुस्मा नगरपालिकाको ४, ५, ६ र ७ वडा कार्यालय र कुश्मा नगरपालिकाका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमण फैलन नदिन कुश्मामा रहेका सम्पूर्ण बैक तथा वित्तीय संस्था र अति आवश्यक बाहेकका सम्पूर्ण पसल पनि बन्द गराउने निर्णय पनि गरेको छ।
भीडभाड कम हुँदा संक्रमण फैलन कम हुने विस्वास लिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए। पर्वतको कुस्माबजारमा दसैं अगाडिदेखि समुदायमा कोरोना संक्रमण फैलिएको छ भने १ साताको अवधिमा २ जनाको मृत्यु भएको छ।
जोमसोम बजार सिल
जिल्ला बाहिर नगएकी जोमसोमकी बस्ने ३८ वर्षे महिलामा गत बुधबार कोरोना पुष्टि भएपछि ४ महिनादेखि कोरोनामुक्त रहेको मुस्ताङमा कोरोना संक्रमणको त्रास बढेको छ।
यसअघि ६ असारमा ८३ वर्षे वृद्धलाई कोरोना पोजेटिभ देखिएकोमा उनी निको भएपछि मुस्ताङमा संक्रमित भेटिएका थिएनन्।
ती महिलामा कोरोना पुष्टि भएपछि मुस्ताङको घरपझोङ गाउपालिका ४ जोमसोम बजार बिहीबारदेखि १ साताका लागि सिल गरिएको छ।
गाउँ मुखिया रामप्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाउँ समाजको बिहीबार बसेको आकस्मिक बैठकले कोरोना रोकथाम तथा नियन्त्रण प्रतिकार्य गर्नुपर्ने उल्लेख गर्दै जोमसोम बजार सिल गरेको जोमसोम गाउँ समाजका सचिव गणेश शेरचनले बताए।
जोमसोम बजार क्षेत्रमा समुदायस्तरमा कोरोना देखिएकाले घरपझोङ गापा वडा नं. ४ अन्तर्गतको जोमसोम बजार कात्तिक १९ गतेसम्मका लागि सिल गर्नु परेको बताए ।