बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा, पूर्णिमा व्रत आज

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा, पूर्णिमा व्रत आज

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित शुक्रबार राति जाग्राम बसेर नेपालीले महान् चाड बडा दसैंलाई बिदा गरेका छन्। 
 |  शनिबार, कात्तिक १५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

vianetvianet

काठमाडौं- धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित शुक्रबार राति जाग्राम बसेर नेपालीले महान् चाड बडा दसैंलाई बिदा गरेका छन्। 

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैं पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि शुक्रबार नै समाप्त भएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ। 

शुक्रबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ।  आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्। 

आश्विन शुक्ल पूर्णिमाको  सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। 

नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। 

यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधान समेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए।  महालक्ष्मीसँगै शुक्रबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ।

कोजाग्रत पूर्णिमा शुक्रबार परेपनि पूर्णिमा व्रत भने आज रहेको समितिले जनाएको छ। महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ। 

शुक्रबार २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि थियो भने त्यसपछि पूर्णिमा तिथि लागेको छ। मध्यरातमा पूर्णिमा शुक्रबार परेकाले कोजाग्रत पूर्णिमा हिजै मनाउने निर्णय समितिले गरेको हो। आज पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ।

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायङ्कालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो। कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै सुरु भएको छ।  वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ। 

प्रकाशित: Oct 31, 2020| 01:44 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।