काठमाडौं- बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट बागमती प्रदेश प्रहरी घोषणा गरेको छ।
असोज महिनाको विभिन्न मितिमा गरी ९ जना फरार प्रतिबादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागुऔषध कारोबार र ओसारपसारमा सम्मिलितलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको, डलर साट्ने बहानामा ठगी गर्ने समूहलाई पक्राउ गरेको लगायतका कार्यहरुको उचित मुल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनोट समितिले असोज महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाअन्तर्गतका प्रत्यक्ष मातहतका कार्यालयबाट महिनाभर उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको नामावली माग गरी सिफारिस भई आएकामध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्दै आएको छ।