काठमाडौं– काभ्रे, सिन्धुपाल्चोक र म्याग्दीमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।
काभ्रेको रोशी गाउँपालिका–११ डालाबेशीस्थित बीपी राजमार्गमा ज १२ प ८३९१ नम्बरको मोटरसाइकल र ना १ ज ७७५० नम्बरको सुमो ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषा लक्ष्मीनिया गाउँपालिका–२ बस्ने २३ वर्षीय नबीन कुमार यादव रहेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।
सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–८ आलमपुरस्थित सडकमा बा ६० प २६०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा ४० वर्षीय प्रेम सापकोटाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरस्थित सडकमा बोलेरो जिप दुर्घटनामा एकको मृत्यु भएको छ।
ग १ ज ८९६ नम्बरको जिप सडकबाट एक सय मिटर तल कालिगण्डकी नदी किनारमा खसेर दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीकी १२ वर्षीया रिया बिकको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरोमा सवार अन्य ११ जना घाइते रहेको प्रहरीले जनाएको छ।