भक्तपुर– भक्तपुरमा कोरोना भाइरस संक्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ। जिल्लामा शुक्रबार बिहानसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ५०० नाघेको छ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ५९६ जना पुगेको छ।
त्यसै गरी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ।
छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगंंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।
कोरोना संक्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो।
स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा. गौतमले बताइन्।
त्यस्तै कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बरभन्दा बढी रहेको उनले बताए।
कोरोना संक्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म संक्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत छ।
कोरोना भाइरस संक्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ।
बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६१८ महिला गरी तीन हजार ६९९ संक्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए। भक्तपुरमा हाल एक हजार ४७ पुरुष र ७८१ महिला गरी एक हजार ८२८ सक्रिय संक्रमित छन्। रासस