काठमाडौं– संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट एफपीयूको रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७ औं समूहमा जाने प्रहरी कर्मचारीको बिदाइ गरिएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा टोलीको बिदाइ गरेका हुन्।
समारोहमा प्रहरी महानिरीक्षक क्षेत्रीले मिसन समूहका कन्टिनजेन्ट कमान्डर प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरे।
उनले मिसनमा छनोट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिएका छन्।
परिस्थितिमा आएको परिवर्तन र गतिशीलतालाई ध्यानमा राखी एफपीयू छनोट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासका निम्ति थप लाभदायक हुने उनले विश्वास व्यक्त गरे।
‘संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिका रुपमा रहन्छ,’ क्षेत्रीले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक हो भन्ने कुरा आत्मामा रहनुपर्छ।’
मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकाले मर्यादित आचरण र अनुशासित हुनुपर्ने भन्दै क्षेत्रीले यूएनको मापदण्डअनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न जाने प्रहरी कर्मचारीलाई निर्देशन दिए।
मिसनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय यूएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले त्यसतर्फ प्रहरी उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक चार, प्रहरी निरीक्षक सात, प्रहरी नायब निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हबलदार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी सात जना गरेर १८० जना रहेको जानकारी दिए।
मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी १७ कात्तिक र ११ मंसिरमा त्यसतर्फ प्रस्थान गर्नेछन्।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतलगायत उपस्थित थिए।