पोखरा– स्वदेशी र विदेशी पर्यटक पोखरा आएपछि कहाँ घुम्ने? फेवामा डुंगा सयर गर्ने, सूर्योदय हेर्न सराङकोट जाने वा चमेरे र महेन्द्र गुफा जाने?
अनि फेवाबाट निस्केको पानीले बनेको पाताले छाँगो हेर्ने? या विन्ध्यवासिनी, तालवाराही, शान्तिस्तूप, माटेपानी गुम्बा र मियाँपाटनको मस्जिदमा पुगेर मन शान्त पार्ने?
हो, पोखरा प्राकृतिक मात्र होइन धार्मिक पर्यटनका लागि समेत प्रख्यात छ।
भारतको विन्ध्याचलसँग जोडिएको विन्ध्यवासिनी मन्दिर दर्शनका लागि भारतीय मात्र होइन, तेस्रो मुलुकका पर्यटकसमेत आउने गरेका छन्।
हिन्दूबाहेक अरू धर्मवालम्बीका लागि पनि यहाँ प्रशस्तै गन्तव्य छन्। पोखरा बजारबाट नजिकै पुम्दीकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन धमाधम काम भइरहेको छ।
जहाँ नेपालकै अग्लो दाबी गरिएको महादेवको प्रतिमा जडान भइहेको छ। चार वर्षअघि महायज्ञ गरेर रकम संकलन गरी थालिएको निर्माण कार्यले अहिले गति लिइरहेको छ।
पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार ४० करोड लगानी हुने गरी काम थालिएको हो। अहिले भवन निर्माण र प्रतिमा स्थापना गर्ने काम भइरहेको छ।
सुरुमा १०५ फिट अग्लो पूर्ण कदको प्रतिमा राख्ने गुरुयोजना बनाइएको थियो। अग्लो प्रतिमाले जहाज र प्याराग्लाइडिङ अनि अल्ट्रालाइट उडानमा असर पार्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले रोक लगाएपछि ५२ फिटको बसेको प्रतिमा बनाइएको छ।
अध्यक्ष बरालका अनुसार अहिलेसम्म १४ करोडको काम सकिएको छ। उनले भने, ‘अब प्रतिमा राखेपछि ६५ प्रतिशत काम सकिन्छ।’ प्रतिमा निर्माणमा पोखरा महानगरसमेत विभिन्न व्यक्ति र संस्थाहरूले सहयोग गरेका छन्।
तीन करोड लगानी गर्ने प्रतिबद्धता जनाएको महानगरले हालसम्म एक करोड ५० लाख दिइसकेको छ। संघ र प्रदेश सरकारले पनि यसमा सहयोग गरेका छन्।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार पहिलो चरणमा प्रतिमासहित गणेशले परिक्रमा गरिरहेको १०८ शिवलिंग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वतलगायत निर्माण हुनेछ।

दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैंचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना छ।
मन्दिर निर्माण सुरु भएसँगै त्यहाँ अन्य चहलपहलसमेत बढ्न थालेको छ। होटल र रेस्टुरेन्ट खुल्ने क्रम बढेको अध्यक्ष बराल बताउँछन्।
प्रतिमा निर्माणका लागि ०७३ सालमा महायज्ञ लगाएर समितिले ६ करोडभन्दा बढी नगद र जग्गा जोडेको थियो। बजेट अभाव हुने भएपछि फेरि महायज्ञ लगाउने कि भनेर तयारी थालिएको बरालको भनाइ छ।
‘पैसा जुटाउन समस्या भयो, अधकल्चो काम छाडेर भएन, फागुनमा महायज्ञ लगाउने निर्णय गरेका छौं,’ उनले भने।