सुर्खेत– लामो समयदेखि कोरोना संक्रमण नरोकिएपछि जुम्लाको तातोपानी गाउँपालिकाले अस्पताल सञ्चालन गरेको छ। कोरोना संक्रमितको उपचार सहज बनाउन गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको हो।
वडा नं. ५ को ऐरेनी स्वास्थ्य चौकीलाई कोभिड अस्पतालका रुपमा विस्तार गरिएको हो। हाल अस्पतालमा सात जना कोरोना संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन्। आइसोलेसन सेवाबाट सुरु भएको अस्पतालमा आइसियू र भेन्टिलेटर समेत जडान गर्ने गाउँपालिकाले जनाएको छ।
दश लाख खर्चिएर अस्पताल सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंले जानकारी दिए। कोरोनाको रोकथाम र उपचारका लागि संघीय सरकारले गाउँपालिकालाई दश लाख रुपैयाँ उपलब्ध गराएको थियो।
अस्पतालका लागि गाउँपालिकाले दुई पटक विज्ञापन गरेर मेडिकल अधिकृत (चिकित्सक) माग गरेको थियो। तर चिकित्सकको पदपूर्ति नभएपछि दुई जना स्टाफ नर्सबाट सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकामा हालसम्म आठ सयभन्दा बढीको पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।