हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका ४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ।
चेला वनबाट सुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन्। बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो।
खुक्खा मौसम सुरु भएसँगै हुम्लामा आगलागीका घटना सुरु हुन थालेका छन्।
उक्त सामुदायिक वन ०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट ४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए। सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए।
लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका छन्।