जनकपुरधाम- पैगम्बर हजरतको जन्मदिनको अवसरमा प्रदेश नम्बर २ सरकारले भोलि (शुक्रबार) प्रदेशमा सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ को सरकारले कार्तिक १४ गते शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको हो।
मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्दै प्रदेशमा बिदासमेत रहेको जानकारी गराएका छन्।
मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनी कामनासमेत गरेका छन्।