ओखलढुंगा- पूर्वसभासद् रामहरि खतिवडाले ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन्।
दसैं मनाउन घर आएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभन्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीका लागि बेर्ना वितरण गरेका छन्।
रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले गाउँका दुई हजार सात सय तथा सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा तीन सय गरेर तीन हजार बिरुवा रोपिने खतिवडाले बताए।
गुर्जो खेती विस्तारका लागि गाउँपालिकाका नौ वटै वडामा तीनतीन सयका दरले र बाँकी सुनकोसीको कटुुञ्जेलगायत गाउँमा रोप्ने गरी वितरण गरिएको उनको भनाइ छ।
‘गुर्जो निकै नै उपयोगी जडिबुुटी रहेछ । हावापानी पनि यसका लागि हाम्रो गाउँघर राम्रो भएकाले मागेर नभई खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँगाउँमा गुुर्जोका बिरुवा पठाएँ’, खतिवडाले भने।
गाउँपालिकाका अध्यक्ष मोतीराज राईले सबै नागरिकलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटिजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफूहरु लागेको बताए। -रासस