जनकपुरधाम- धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीहरुले लगाएको ताला केही घण्टा नबित्दै प्रहरीले तोडेको छ।
बक्यौता तलब, सञ्चय कोषलगायतको रकमको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले आज (बुधबार) बिहान लगाएको ताला प्रहरीले केही घण्टा नबित्दै तोडेको हो।
जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु विगत एक महिनादेखि तलब तथा सञ्चय कोषको रकम उपलब्ध गराउन माग गर्दै आन्दोलनरत छन्। उनीहरुले कलेज व्यवस्थापन पक्षले आफूहरुको मागप्रति चासो नदेखाएको भन्दै बुधबार ताला लगाएका थिए।
पटकपटक विवादित बन्दै आएको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचरीहरुले गत ८ महिनादेखि बाँकी रहेको तलब र ६ वर्षको संचय कोषको रकम माग गर्दै ओपीडी सेवा र प्रशासन बन्द गरी असोज १२ गतेदेखि कलेज परिसरमै धर्ना दिदैँ आएका छन्।
गत भदौ ३० गते कलेज व्यवस्थापन पक्षसँग असोज ४ गतेसम्ममा लेखापाल राखी बक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दशैं खर्च, सञ्चय कोष र तलबलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रको रोहबरमा सम्झौता भएको थियो।
कर्मचारीहरुले यसअघि भदौ २६ गतेदेखि लगाएको ताला भदौ ३१ गते नै खोल्ने सहमतिसमेत भएको थियो।
कर्मचारीहरुले सहमतिअनुसार तालाबन्दी खोलीदिए पनि कलेज व्यवस्थापकले सम्झौताअनुसार बक्यौता खर्च हिसाब सार्वजनिक नगर्दा उमेश यादवको संयोजकत्वमा कर्मचारीका तर्फबाट कर्मचारी हकहित संरक्षण एक समिति गठन गरी गत असोज १२ गतेदेखि धर्नामा बसेका हुन्।
४० जना कर्मचारी नियमित रुपमा कलेजको प्रशासनिक कार्य अवरुद्ध गरी धर्नामा बस्दै आएका छन्। कलेज व्यवस्थापन पक्षले आन्दोलनरत कर्मचारीहरुलाई निलम्बन र स्पष्टिकरणसहितका कारबाही प्रक्रिया अघि बढाइसकेको छ।
दसैं अवधिभरमा कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्ये कुलदीप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई समेत कारबाही स्वरुप निलम्बन गरेको संयोजक यादवले बताए।
यता कर्मचारीहरुको आन्दोलनबारे कलेजका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत दयानन्द झाले कर्मचारीहरुको बक्यौता रकम दिने सहमति भइसकेको अवस्थामा कारबाहीमा परेका कर्मचारीहरु आन्दोलनमा रहेको प्रतिक्रिया दिएका छन्।
संयोजक यादवले आफूहरुले माग पुरा गराउन कात्तिक १६ गतेदेखि आकस्मिक सेवासमेत बन्द गरेर आमरण अनसनमा बस्ने चेतावनी दिएका छन्।