अछाम- अछामको रामारोशन गाउँपालिकाकी उपाध्यक्षले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेकी छन्।
गाउँपालिका नीति र विधि विपरित चलेको भन्दै उपाध्यक्ष सरस्वती रावलले कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेकी हुन्।
उनले एक विज्ञप्ति जारी गर्दै स्थानीय सरकार संचालन ऐनले प्रष्ट पारेका उपाध्यक्षका काम कतव्र्य र अधिकारलाई लत्याइएको र मनपरी ढंगले अध्यक्षले गाउँपालिका चलाउन खोजेको आरोप लगाएकी छन्।
अध्यक्ष झंकर साउँदलाई लक्षित गर्दै रावलले स्थानीय सरकार संचालन ऐन २०७४ विपरित कार्य भएको, एकात्मक, तानाशाही शैलीमा काम गरेको, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गर्ने काम कर्तव्य र अधिकार उपाध्यक्षको हुँदा पनि त्यसो गर्न नदिइएको आरोप लगाएकी छन्।
उनले विज्ञप्तिमा अनुगमन प्रतिवेदनबिना भुक्तानी दिन लगाउने, कर्मचारी भर्ना तथा नियुक्तिमा अनियमितता तथा एकाधिककार प्रयोग गरिएको, कार्यालयका काम कारबाही र योजना तर्जमा छनोट प्रक्रियामा समेत एकल निर्णय भइरहेको आरोप लगाएकी छन्।
उनले यसबारेमा आफूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि नसच्चिएपछि तालाबन्दी गर्नुपर्ने बाध्यता आइलागेको विज्ञप्तिमा उल्लेख गरेकी छन्।
उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै जना तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका हुन्।