म्याग्दी- म्याग्दीको धौवलागिरि गाउँपालिका २ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ।
पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका ५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएको हो।
गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका ७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो।
आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी गिरीलाई पाँच महिनापछि परिवारलाई जिम्मा लगाएको क्लबका सचिव दिल रानाले बताए।
उद्दारका लागि सचिव राना, सल्लाहकार बालकुमार फगामी, देवीदेउराली युवा क्लबका लेखबहादुर पुनलगायतको टोली लुलाङ पुगेका थिए। लुलाङका युवा रेशमबहादुर विक, वडाध्यक्ष गमप्रसाद विक, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले युवतीको उद्दारमा सहजीकरण र समन्वय गरेका थिए।
जयन्तीलाई बुबा कुलबहादुर र दाजु ओमकार गिरिको जिम्मा लगाइको हो। जयन्तीको पढाइमा क्लबले सघाउने जनाएपछि अभिभावकले पढाउने प्रतिबद्धता जनाएका छन्। जयन्तीले ताकम, मुना र लुलाङमा मागेर खाने र बस्ने गरेकी थिइन्।