बाँके- बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ। गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीमा २० कठ्ठा जमिनमा १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको हो।
चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय र लिफ्टसहितको भवन निर्माण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए।
उनका अनुसार, भवन निर्माणको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभाव हुँदा पनि निर्माण कार्य चलिरहेको छ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास व्यक्त गरे।
भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले अहिलेको प्रगति अनुसार सम्झौताको छ महिना अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिने जानकारी दिए।
दुई वर्षभित्र भवन बनाउने गरी रोयल कन्सट्रक्सन कैलालीले भवन निमार्णको ठेक्का सम्झौता गरेको हो। भवन निर्माणका लागि सङ्घीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ। गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ।