तराईको उखरमाउँलो गर्मी । विकासे कामले तिव्रता पाएको जताजतै धुलाम्य सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीबाट दुई सय ५७ किलोमिटर उत्तरमा छ तमैल बजार।
धनगढीबाट ४७ किलोमिटर उत्तर लागेपछि पुगिन्छ कैलालीको चुरेगाउँपालिकामा पर्ने खानीडाँडा बजार। जहाँ पुग्दा तराईको उखरमाउलो गर्मीबाट छुटकारा पाएको महसुस हुन्छ।
धनगढीमा ४० डिग्री तापक्रम हुँदा खानीडाँडामा मुस्किलले ३० डिग्री आसपासमा तापक्रम हुन्छ। जतिजति उत्तरतर्फ यात्रा बढ्दै जान्छ त्यतित्यति गर्मीबाट राहत मिल्दै जान्छ।
पत्रकारितामा लागेदेखि जीवनको धेरै समय घुमफिरमै बितेको छ। हिमाल, पहाड, तराईको सुखद अनि रमाईलो अनुभव संगालिएको छ।
भनिन्छ, जीवन यात्रा हो। तराईमै जन्मे, हुर्केको। तराईवासीका लागि उकाली÷ओराली अत्यन्त कठिन हुन्छ। तर, पनि पहाडको यात्रा रमाईलो र स्वर्णिम लाग्छ । जीवन नै संघर्ष हो, संघर्ष त गर्नैपर्छ भन्ने लाग्छ।
धेरैको मुखारबिन्दुबाट सुनेको, मनले चाहेको तर समयले नजुराएको, भू–स्वर्गको यात्रा यस पटक भने जुर्यो। खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनको पहिलो श्रृखलाले भू–स्वर्ग पुर्यायो।
नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीको संयोजनमा आयोजना भएको पदयात्राले दुई बर्ष अगाडि खप्तड पुर्याएको थियो।
धनगढीबाट सुरु भएको रात-दिनको बस यात्रापछि अर्को दिन बझाङ्ग सदरमुकाम चैनपुर पुगेर विश्राम लियौँ। सदरमुकाम चैनपुरबाट १२ किलोमिटर पश्चिम जयपृथ्वी नगरपालिकाको तमैल बजार पुगिन्छ। सेती नदीमा हालिएको झुलुङ्गे पुल तर्दै सत्य पुगिन्छ।
जरारी खोला, खैराडो, मष्टाको पाटिहल्या, डाण्ड्यहुँदै डेढ घन्टाको जिप यात्रापछि खप्तड छान्ना गाउँ पालिका ४ घाटखोला पुगिन्छ।
बिहानको खानाको व्यवस्था दारु गाउँमा भयो। दारु गाउँ पुग्न दुई विकल्प छन्। एक पैदल अर्को गाडी यात्रा।
पैदल होस् या गाडी यात्रा, समय करिब उत्ति नै लाग्ने करिब डेढ घन्टा। बिहान सबेरै उठेर पैडल गन्तव्यतर्फ लम्कियौँ। साथमा चार जना अन्य साथीहरु थिए।
खोला, खहरे तर्दै भनेजतिकै समयमा डेढ घन्टाको यात्रापछि दारु गाउँ पुगियो। त्यहाँ पुग्दा शरिर कमजोरजस्तो, पेटमा भोकले मुसा कुदिरहेको थियो।
दारु गाउँ पुग्ने बित्तिकै पुरी, तरकारी र चिया पिउँन पाउँदा मनै प्रफुल्लित भएर आयो। मेल्तडी गाउँ, ठौरको डाँडा, लोखडा हुँदै टोली पलेटोका धारा पुगेर यात्रा केही बेर रोकियो।
करिब दुई घन्टाको पैदल यात्रापछि पुगिएको थियो पलेटोका धारा। त्रिवेणी होटलसँगै पहाडको खोप्चोबाट मूल फुटेर आईरहेको पानीको धारले सबैलाई सुस्ताउँन विवस बनायो।
केही बेरको पैदल यात्रासंगै प्रवेशद्वरमा नेपाली सेनाको क्याम्प पुगियो। लेखिएको थियो– खप्तड पुग्न डेढ घण्टा। नेपाली सेनासँग आग्रह गर्दै आवश्यक भिडियो खिच्ने अनुमति पाईयो। मेरो टेलिभिजन पत्रकारिताका लागि जुन आवश्यक थियो।
यात्रा अगाडि बढ्यो। लेक लागेर सतायो। स्वाँस्वाँ बढ्यो, सास फेन समस्या भयो। विकल्पमा अमिलो, पिरो चटनीले राहत मिल्यो।
लेक लाग्दा सासप्रश्वासमा समस्या आउँदोरहेछ। सुनेको थिएँ।
भोग्न भने पहिलोपटक भोगियो। ऋमिलो सामग्रीको व्यवस्था घरैबाट गरेर गएका थियौँ। उकालो÷ओरालो पहाडको यात्रासँगै साढे चार घन्टाको कठिन पूर्ण पैदल यात्रापछि पुगियो गन्तव्यस्थल अर्थात धर्तीको स्वर्ग!
‘आहाँ! क्या राम्रा फाँट सँगै मिलेर बसेका’, रहेका एक मित्रले भने, ‘वास्तवमै भू–स्वर्ग रहेछ।’
तबसम्म साँझ परिसकेको थियो। चारैतर्फ अग्ला पहाड र जंगलले घेरिएको, बीचमा विशाल पाटन। उकाली-ओरालीको चढाईबाट राहत पाएको अनुभूति।
नरम दुबो ओच्छ्याईएको आहाँ क्या राम्रो विशाल फाँट। त्यही सुतेर आकाश हेर्दा टाउँको मै गिरला जस्तो बादल। कति राम्रो मौसम सात घण्टादेखिको पैदल यात्राको थकाई क्षण भरमै बिर्सिने । नभन्दै असिना पानीने स्वागत गरिहाल्यो।
शान्त वातावरण एकाएक कोलाहलमा बदलियो। भागाभाग मच्चियो । एक्कासी आएको असीना पानीले रमिरहेका आगन्तुक भागाभाग गर्न थाले।
टाउको फुटाउलान्जस्ता ठूलाठूला अहिसना वर्षि, पानी पर्यो, हावा चल्यो। जेगिनै गाह्रो। २५ किलोभन्दा बढीको भारी काँधैमा थियो। दौडने गाह्रो।
ओत लाग्ने ठाउँ भएन। केही पर देखिएको रुख नै असिनापानीबाट बच्ने उपाय बन्यो। कोही रुखको छहारीमा त कोही रेन कोट लगाउँनमा व्यस्त भयौँ। ४० डिग्री धनगढीको तापक्रमबाट यहाँ आइपुगेका हामी एकाएक शून्य डिग्रीमा तापक्रम झरेको अनुभूति भयो।
भू–स्वर्गको दर्शन
सुदूर नेपालमा अवस्थित सुदूरपश्चिम प्रदेश। हिमाल, पहाड र तराई छोएको नौ जिल्ला। उत्तरमा चीन, दक्षिण र पश्चिममा भारतसँग जोडिएको प्रदेश। धार्मिक, पर्यटकीय क्षेत्रले भरिपूर्ण तथा भाषा, कला, सँस्कृतिले भरिभराउँ सुदूरपश्चिम प्रदेश।
प्राकृतिक मनोरम दृष्य हेर्न रुचाउँने जोकोहीका लागि अति उत्तम। यस प्रदेशमा अवस्थित धेरैभन्दा धेरै धार्मिक, पर्यटकीय क्षेत्रमध्ये एक अति महत्वपूर्ण धार्मिक एवंम् पर्यटकीय गन्तव्य स्थल। धरतिकै स्वर्गको उपमा पाएको भू–स्वर्ग, जो कोहीले एक पटक हेर्नै पर्ने धार्मिक एवम् पर्यटकीय स्थल हो खप्तड।
समुन्द्री सतहबाट ३ हजार ३ सय मिटर उचाई र २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र प्रदेश नौ जिल्लामध्ये डोटी, अछाम, बाजुरा, बझाङ गरी चार जिल्लाको संगम स्थल।
धार्मिक एवम् पर्यटकीय क्षेत्र खप्तड प्रदेशकै एक प्रमुख गन्तव्य स्थल मानिन्छ। पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रुपमा समेत वर्णन गरिएको पाईन्छ।
धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यस क्षेत्रमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले १४ वर्ष वनबास बस्दा केही समय यहीँ बिताएको किम्वदन्ती पाईन्छ।
वि.स. २००२ सालमा बझांगी राजा रामजंग सिंह र छान्नाका स्थानीय समाजसेवी जिते खड्काको अगुवाईमा खप्तडको घनघोर जंगलमा एक बाबाले तपस्या गरे।
खप्तड देवभूमी, धार्मिक एवम् पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण भएको भनेर प्रचारप्रसार गरे पश्चात यस क्षेत्रको सुन्दरताले चर्चा पायो। पछि खप्तड बाबाका नामले परिचित भए।
२०५२ सालसम्म (५०) वर्ष यही भूमिमा बसे।
पौराणिक कालदेखि धार्मिक महत्व बोकेको यस क्षेत्रमा खप्तड बाबाको बसाईपछि झनै चर्चा पाएको बताईन्छ। गाईगोरुको चरन क्षेत्रका रुपमा मात्र रहेको यो क्षेत्र खप्तड बाबाको आगमन पश्चात बि.स. २०४२ सालमा यसलाई राष्ट्रिय निकुन्ज बनाईयो। अहिले खप्तड क्षेत्रको सुरक्षाको लागि नेपाली सेनाको गुल्म स्थापित छ।
यस प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य खप्तड प्राकृतिक एवम् धार्मिक महत्वले भरिभराउँ छ।
२२ वटा ठूला पाटन रंगीविरंगी फूल, अद्भुत मौसम, नाग ढुङ्गा, भिम लौरी लागायतका तमाम प्राकृतिक सम्पदाले खप्तडमा स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउँने गर्दछ।
प्रकृतिको अनुपम उपहार पाएको खप्तड धार्मिक रुपले पनि अति महत्वपूर्ण मानिन्छ। खप्तडमा अवस्थित प्रमुख धार्मिक तिर्थस्थलमध्येको एक हो सहश्रलिंग।
समुन्द्री सतहबाट तीन हजार दुई सय मिटर उचाईमा अवस्थित सहश्रलिंगको पूजाआजा गरे चिताएको पूरा हुने विश्वास छ। सहश्रलिंग त्रिवेणी धामबाट दुई घण्टाको पैडल यात्रापछि पुग्न सकिन्छ।
अर्को महत्वपूण तिर्थस्थल हो त्रिबेणी धाम। खप्तड पुगेपछि नछुटाई दर्शन गर्नुपर्ने पवित्र तीर्थस्थल। खप्तडको बीच भागमा अवस्थित त्रिबेणी मन्दिरको दायाँबाँया अर्थात पूर्व र पूर्वदक्षिण तर्फबाट बगेको नदी।
प्राचीनकालदेखि पुजिँदै आइएको त्रिबेणी मन्दिरमा गंगादशहरामा ठूलो मेला लाग्ने गर्दछ। त्रिवेणी घाटमा नुहाए पाप पखालिने विश्वास रहिआएकाले गंगादशहरा मेलामा भक्तजनहरुको ठूलो उपस्थिति हुने गर्दछ।
त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ। सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ। त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ।
त्रिवेणी, सहस्र लिङ्ग, खप्तड दहमा स्नानगरी दर्शन गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। मेलामा स्थानीयहरुको बढी सहभागिता हुने गरेको छ।
पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षेनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु आउने गर्दछन्।
गंगादशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ्ग र बाजुराका मानिस आई रातभर देउडा तथा न्याउले खेल लगाई रमाईलो गर्ने गर्छन।
खप्तड बाबा आश्रम। जुन खप्तड बाबाले तपस्या गरेको पावन भूमी हो। कस्मिरबाट नेपालको पूर्वमेची हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबा एक सर्जन हुन् भनिन्छ।
खप्तड बाबाले तपस्या गरेकोले पनि प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा पवित्र मानिन्छ, यो भूमी। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो।
खप्तड पुगेर हेर्नै पर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्।
उहाँले योग र ध्यान गर्नुभयो र किताबहरु लेख्नुभयो। उहाँले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक यही कुटीमा बसेर लेख्नुभएको थियो।
खापर दह अर्थात खप्तड दह त्रिवेणी धामबाट डेढ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ। दहसंगै रहेको खप्तड दहमा शिवजीले जलक्रिडा गरेको कथन रहिआएको छ।
बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको एक सय ५० मिटर लम्बाई र ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा दह खप्तड क्षेत्रमा रहेका छन्।
अलौकिक प्राकृतिक सम्पदा
चारैतिर घनघोर जंगल र बीचमा ठूला ठूला फाँट रहेका छन्। जैविक विविधताले भरिएको खप्तड क्षेत्रमा ५ सय ६७ थरिका वनस्पती र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दा पनि बढी चराचुरुंगी यहाँ पाईन्छन्।
खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघ, बुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो।
विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ। २ सय भन्दा बढी प्रजातिका फुल, बहुमुल्य जडिबुटीका साथै कस्तुरी, मृग, बदेल, डाँफे लगायत पाईन्छ।
मंसिरदेखि फगुनसम्म हिउँले ढपक्क हुने यस ठाउँमा पर्यटकलाई बस्ने होटेल तथा आवश्यक अन्य पूर्वधारको अभावमा आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ्न सेको छैन।
सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्न जेठदेखि मङ्सिर महिनासम्मको समय उपयुक्त मानिन्छ। यही मेसो पारेर आयोजना गरिएको चारदिने खप्तड बसाईपछिको यात्रा पुनः कर्मथलोतर्फ बढ्यो जेठ १ गते।
अद्भूत भू–स्वर्गको बसाई चाहँदानचाहदै टुङ्ग्याउँदै विहान सुरु भएको पैदल यात्रा बेलुका चार बजे डोटीको झिंग्रानासम्म पुगेर टुङ्गियो।
खप्तडबाट सुरु भएको ९ घण्टाको उकालो ओरालो पैदल यात्रा बिचपानी हुँदै झिंग्राना पुगेर रोकियो।
क्या मजा भोकभोकै पैदल यात्रा अनी उकाली ओराली चढ्दै बेलुका चार बजेपछिको खाना कति मिठो हुँदो रहेछ। सात्विक खानाको तीन सय रुपैयाँ पनि सस्तो लाग्यो। खाना पनि त्यत्तिकै मिठो। केहीबेरको बिश्रामपछि डेढ घण्टाको सानो गाडीको यात्रापछि डोटी पुगियो।
गाडीबाट नझर्दै भेटिएको अछामबाट धनगढीका लागि छुटेको बस हुँदै धनगढी पुगेर भू–स्वर्गको यात्रा समाप्त भयो। स्वर्णिम अनुभव सम्झनामा बसिरह्यो।
त्यहाँको मौसम जो क्षण भरमै बदलिदिन्छ। त्यो आज पनि मिठो याद बनिरह्यो। एकाएक बादल अनी सुरु हुन्छ असिना पानी।
खप्तड क्षेत्रमा आयोजना गरिएको अर्को महत्वपूर्ण सम्झना बन्यो अन्तर्राष्ट्रिय काब्य सम्मेलन र योग। भनिन्छ नमरी स्वर्ग देखिदैन, तर खप्तड पुगेपछि लाग्यो यहाँ जिउँदै पनि भू–स्वर्ग देखिँदो रहेछ।
झिग्रानामा होमस्टे
पर्यटकीय स्थल खप्तड प्रवेशद्वार झिग्रानामा होमस्टे सञ्चालनमा ल्याईएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिकास्थित झिग्रानामा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले ५० लाखको लगानीमा होमस्टे सञ्चालनमा ल्याएका रहेछन्।
होमस्टेमा बढीमा ३० जनासम्म बास बस्न सक्ने तथा ५० जना भन्दा बढी अट्नसक्ने तालिम, सेमिनार गोष्ठी गर्न सकिने हल समेत निर्माण गरिएको छ।
होमस्टेका सञ्चालक दीपबहादुर खड्काका अनुसार यहाँ अग्र्यानिक खाना आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा स्थानीय परिकार उपलब्ध छन्।
पर्यटकीय क्षेत्रको अवलोकनसँगै रातको समयमा क्याम्पफायर गर्ने सुविधा भएको उनले बताए। झिग्रानाबाट बझाङको शैपाल हिमालको दृष्यावलोकन समेत गर्न सकिने भएकाले पर्यटकहरु आउने क्रम बढेको खड्काले बताए।